बैशाख ९ ।काठमाडौ, नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरुले पार्टीको स्थापना दिवस मनाइरहेका छन । नेपाली वाम विचारधाराका पार्टीहरुले फरक-फरक कार्यक्रम गरेर नेकपाको ६७औं वार्षिकोेत्सव मनाइरहेका छन । विभाजित नेपालमा एमाले, एकीकृत माओवादी, नेकपा–माओवादीलगायत एक दर्जनभन्दा बढी समूहमा कम्युनिष्ट पार्टीहरु बनिसकेका छन । वर्षगाँठको अवसरमा एमालेको राजधानीमा विशेष समन्वय कमिटीले मध्यान्ह प्रज्ञाभवनमा औपचारिक कार्यक्रम राखेको जनाएको छ ।
एकीकृत माओवादी, मोहन वैद्य, नेत्रविक्रम चन्द, मातृका, मणि थापा नेतृत्वको माओवादीलगायत पार्टीले विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । ‘संसारभरका मजदुर एक होऔ’ भन्ने उद्घोषलाई पछ्याउँदै नेपालमा पहिलोपटक पुष्पलालले विश्व कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण दस्तावेज कम्युनिस्ट घोषणापत्र (सन् १८४८)लाई नेपालीमा अनुवाद गरेपछि आन्दोलनको प्रादुर्भाव भएको थियो । उहाँकै नेतृत्वमा राणाशासनको विरोध गर्दै वि.सं २००६ वैशाख ९ गते लेनिनको जन्मदिन पारेर ‘नेपाल कम्युनिस्ट पार्टी’ स्थापना भएको थियो ।
नेकपाका संस्थापकहरु सबैको देहवसान भइसकेको छ । उक्त अभियानमा नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठको सहभागिता थियो ।
यसैबीच, नेकपाको स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै कम्युनिष्ट नेताहरुले एकतामा जोड दिएका छन् । एमालेका अध्यक्ष केपी ओलीले सैद्धान्तिक धरातल र मार्गदर्शनमा दृढतापूर्वक उभिएर कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु अपरिहार्य भएको बताउनुभएको छ । उहाँले नेपाली कम्युनिस्ट आन्दोलनको मूलप्रवाह र लोकतान्त्रिक आन्दोलनको पनि अग्रणी शक्तिका रूपमा एमाले स्थापित भएको दाबी गर्दै पार्टी छाडेर गएकालाई निःसङ्कोच घर फर्किन आह्वान गर्नुभयो ।
यसैगरी, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टी स्थापना दिवस र लेनिनको १ सय ४५औं जन्मजयन्तीको अवसरमा क्रान्तिकारी शक्तिबीच एकताको अपिल गर्नुभएको छ । उहाँले दशवर्षे जनयुद्ध, विभिन्न कम्युनिष्ट आन्दोलनले उठाएको मुद्दा राष्ट्रिय राजनीतिको एजेण्डा रहेको उल्लेख गर्नुभएको छ ।







