नेपाल आइस मिस पूर्वाञ्चल २०१५ को उपाधि प्रियङ्कालाई

इटहरी,पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता नेपाल आइस मिस पूर्वाञ्चल २०१५ को उपाधि प्रियङ्का श्रेष्ठले प्राप्त गर्नु भएको छ। “फेसबुकमार्फत साथी बनेकाहरु बिहे गरेका छन् यसलाई तपाईं के भन्नुहुन्छ ?” भन्ने मुख्य निर्णायक बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डा विक्रमप्रसाद श्रेष्ठले सोधेको प्रश्नमा जवाफ दिएर विराटनगर उपमहानगरपालिकाकी श्रेष्ठले यो उपाधी हात पार्नु भएको हो ।१४ प्रतिस्पर्धीलाई जितेकी श्रेष्ठले यस्तो जवाफ दिनु भएको थियो, “मेरो विचारमा बिहे गर्न विचार मिल्नुपर्छ, एकअर्कामा विश्वास र सम्मान हुनुपर्छ, त्यसो भयो भने जुनसुकै सामाजिक सञ्जालबाट पनि मानिसको बिहे हुन सक्छ ।”यो उत्तरले नै उहालाई मिस पूर्वाञ्चलको ताज दिलायो ।
चार्टर एकाउन्टेन्सी अध्ययन गरिरहेकी प्रियङ्काले ‘मिस पब्लिक च्याइस टाइटल’सहित उपाधि जितेर यामाहाको स्कुटी र हङ्कङ यात्राको अवसरसमेत प्राप्त गर्नु भएको थियो । विजेताले होटल एसोसिएसन अफ भेंडेटारको सद्भावना दूत, आसरा सुधार केन्द्र र बुढासुब्बा गोल्डकपको पनि सद्भावना दूत बन्ने अवसर पाउनु भयो । उपाधि जितेपछि खुसी व्यक्त गर्दै उहाले सामाजिक कार्यमा लाग्न उत्साह थपिएको र मोडलिङसँगै पूर्वको पर्यटन प्रवद्र्धनमा सक्रिय बन्ने बताउनु भयो । त्यस्तै, धरानकी अनु राईले मिस ट्यालेन्टसहित फस्ट रनर अप बन्दै नगद रु ४० हजार र बैंकक टुरको अवसर पाउनु भयो । जुम्बा डान्सकी प्रशिक्षक बन्ने लक्ष्य लिएकी अनुले कला क्षेत्रमा नै भविष्य बनाउने बताउनु भयो ।
सेकेन्ड रनर अप बनेकी झापा दमककी प्रमिसा बज्राचार्यले नगद रु ३० हजार र पोखरा भ्रमणको अवसर पाउनु भयो । भविष्यमा एयरहोस्टेज बन्ने लक्ष्य प्रमिसाको रहेको छ । सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगितामा लेटाङ मोरङकी साइरा मगर मिस चार्मिङ, चन्द्रगढी झापाकी सञ्जु मल्ल ठकुरी मिस पर्सनालिटी, इटहरीकी मिसाल श्रेष्ठ मिस फ्रेन्डशीप, केराबारी मोरङकी सामुना लिम्बू मिस फोटोजेनिक र धरानकी शरुपा थापामगर मिस वेष्ट वाक घोषित भएका छन् । सबै सवटाइटल विजेताले जनही नगद रु १० हजार र उपहार पाएका छन् ।
बुधबार साँझ धरान सभागृहमा भएको प्रतियोगितामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा विक्रम श्रेष्ठ, सिजी ब्रुअरीका सिनियर जनरल मेनेजर प्रदीप पुडासैनी, डा राजेन्द्र शर्मा, युरेका स्कुलका प्रिन्सिपल राजेन्द्र गुरुङ, पिएलओ लुब्रिकेन्टसका प्रमुख कार्यकारी अधिकृत भोलेश्वर दुलाल, फोटोग्राफर राजिव श्रेष्ठ, मिस पूर्वाञ्चल २०११ प्रतिभा श्रेष्ठ, नायिका माला लिम्बू, एसएसपी ज्ञानविक्रम शाह र राजविमल श्रेष्ठ निर्णायक हुनुहुन्थ्यो ।

सम्बन्धित शिर्षकहरु