बोको हरामद्वारा ७० बढीको घाँटी रेटेर हत्या, मस्जिमा आगो लगाइयो

माघ २२ ।नाइजेरिया,बोको हराम चरमपन्थी समूहले नाइजेरियासँग सीमा जोडिएको क्यामरुनको फोटोकोलस्थित एउटा गाउँमा आक्रमण गरेर ७० जनाभन्दा बढीको हत्या गरेको छ।
स्थानीय अधिकारीहरुका अनुसार इस्लामिक चरमपन्थी समूह बोको हरामले क्यामरुनको फोटोकोलमा आक्रमणका क्रममा स्थानीयको घरमा आगजनी गरेको र गाउँमा रहेको मस्जिदसहित कयौ घरमा आगो लगाएको बताएका छन्।
बोको हरामको यो आक्रमण क्षेत्रीय सुरक्षा बलले चरमपन्थी समूह बोको हरामलाई फोटोकल क्षेत्रबाट लेखेको दावी गरेलगत्तै भएको हो  ।
समाचार एजेन्सी एएफपीका अनुसार चरमपन्थी समूहले स्थानीयको घाँटी रेटेर हत्या गरेका थिए । एक स्थानीयले एएफपीसँग भने, आज बिहान यहाँ बोको हरामले ठुलो क्षति पुराएको छ । उनीहरुले दर्जनौ स्थानीयको हत्या गरेका छन् । बोको हराम लडाकुले गाउँको मुख्य मस्जिदमा आगो लगाइदिएका छन् ।
बोको हराम चरमपन्थी समूहलाई क्यामरुनको सुरक्षाबलले लखेटेको थियो । यसमा छिमेकी नाइजेरियाको गामबोरुमा तैनाथ चाडका सुरक्षा बलले पनि सहयोग गरेको थियो ।
चाडको सुरक्षा सेनाले मंगलबार गामबोरुमा नियन्त्रण गर्ने क्रममा भएको भिडन्तमा दुई सय बढी चरमपन्थी मारिएको दावी गरेको थियो । उसले केही लडाकु भाग्न सफल भएको दावी गरेको थियो ।
नाइजेरियन सेना चरमपन्थी समूह बोको हरामसँग लड्न असक्षम भएको आलोचनापछि चाडका सैनिक नाइजेरिया र क्यामरुन पुगेका हुन् ।
पछिल्लो ६ वर्षमा बोको हरामको हिंसामा हजारौले ज्यान गुमाइसकेका छन्  । एएफपी

सम्बन्धित शिर्षकहरु