
पुस १८, सानफ्रान्सिस्को – उडिरहेको जहाजमा बसेकी एक यात्रुलाई सुत्केरी व्यथा लागेपछि स्थिति कस्तो होला र पाइलटले के गर्लान? अमेरिकामा उडिरहेको डेल्टा एअरलाइन्सको जहाजमा यस्तै घटना भयो।
अमेरिकाको सानफ्रान्सिकोदेखि माइनपोलिसका लागि उडेको डेल्टा एअरलाइन्सको जहाजभित्र एक यात्रुलाई सुत्केरी बेथा लागेपछि जहाज साल्ट लेक सिटीमा आकस्मिक अवतरण गरिएको छ।
अन्तरास्ट्रिय संचार माध्यमहरुका अनुसार जहाजलाई आकस्मिक अवतरण गरेर एलियन पेरी नामकी ती महिलालाई अस्पतालमा लगिएको थियो। अस्पतालमा उनले छोरा जन्माएकी छन्। डाक्टरहरुले आमा र छोरा दुवैको स्वास्थ्य अवस्था सामान्य भएको बताएका छन्।
अस्पतालमा उनले जहाजका यात्रुले आफूलाई धेरै ठूलो सहयोग गरेको बताइन्। गत डिसेम्बरमा पनि साउथवेस्ट एअरलाइन्सको सानफ्रान्सिस्कोदेखि फिनिक्सका लागि उडेको जहाजकी यात्रुलाई सुत्केरी बेथा लागेपछि लसएन्जलस विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।
गर्भवती महिलालाई हवाई यात्राका सम्बन्धमा विभिन्न एअर लाइन्सले फरक फरक नियम बनाएका छन्। डेल्टा एअरले गर्भवतीलाई हवाई यात्रामा रोक लगाएको छैन। तर, उसले आफ्नो वेवसाइटमा आठ महिनाभन्दा बढीका गर्भवती महिलालाई डाक्टरको अनुमति लिएर मात्र यात्रा गर्न सुझाएको छ।








