डा. केबी रोकाया ।यतिबेला संसारभर येशूख्रिष्टको जन्मदिन अर्थात क्रिसमस मनाइदैछ । नेपालमा पनि सबैठाँउमा क्रिसमसको चहलपहल र रमझम बढ्दै छ । होटल रेष्टुराँ, पसलहरु तथा सार्वजनिक स्थलहरुमा पनि क्रिसमसको सृङगार तथा झिलिमिलि बत्ति बलिरहेको देखिन्छ । ठाँउ ठाँउमा क्रिसमस ट्रि र सन्त कल्ज पनि देख्न सकिन्छ । त्यस्तै ठाँउठाँउमा म्युजिकल कन्सर्टको आयोजना गरी विशेष गरी युवावर्गहरु नाँचगानमा रमाइरहेको देख्न सकिन्छ । यसरी बाहिरी तडक भडकका साथ क्रिसमस चाड मनाउने काम क्रिष्चियनहरुले भन्दा गैर क्रिश्चियनहरुले बढी गरेको देखिन्छ । वास्तवमा भन्ने हो भने बाइबलमा क्रिसमसबारे मनाउनु पर्छ या पर्दैन भनेर कतै उल्लेख गरिएको छैन । येशूखिष्ट र उहाँको चेलाहरुले पनि येशुको जन्मोत्सव मनाउनु पर्छ भनेर सिकाइएको पाइदैन ।
इस्वी संवत ३३६ तिर बादशाह कन्स्ट्यान्टाइन येशूखिष्टका चेला अर्थात क्रिस्चियन भएपछि उनले क्रिस्चियन आस्थालाई रोमी साम्राज्यको आधिकारिक धर्मको रुपमा घोषणा गरे । क्रिस्चियन हुनुभन्दा अघि कन्स्ट्यान्टाइन सूर्यका पूजारी थिए अर्थात अहिलेको क्रिसमसको दिनमा सूर्यलाई देवता मानेर उनको जन्मदिनको रुपमा मनाउथे । उनी क्रिश्चियन भएपछि परमेश्वर बाहेक उहाँले सृष्टि गर्नु भएको कुनै पनि वस्तुलाई पुज्न नहुने भएकोले कन्स्टाइनले सूर्यको जन्मदिनको रुपमा मनाइदै आएको चाडलाई येशूख्रिष्टको जन्मदिन अर्थात क्रिसमसको रुपमा मनाउने प्रचलन सुरु गरियो । यसरी ऐतिहासिक रुपले इस्वी संवत ३३६ पछि क्रिसमस मनाउन थालिएको पाइन्छ । अहिले क्रिसमस चाड मनाउदा प्रयोग गरिने क्रिसमस ट्रि सन्त कल्ज तथा अन्य सरसामग्रीहरुको प्रयोग पनि त्यसबेलाको विभिन्न गैर क्रिश्चियन चाडपर्व, परम्परा र संस्कृतिबाट लिइएको हो । यी कुराहरुको बाइबलीय आधार छैन । यति कुरा मात्र बुझ्न जरुरी छ की जसरी हाम्रो जन्मदिनको सम्झना गदै खुशियाली मनाउछौ भने येशूख्रिष्ट पनि हाम्रो पापको लागि यस पृथ्वीमा जन्मनु भएको सम्झना स्वरुप खुशियाली मनाउदा न त यो गलत हुन्छ, न त क्रिसमस नमनाउदा गलत हुन जान्छ । क्रिसमसको दिनमा येशू प्रभु जन्मिएको दिन यकिन गरेर क्रिसमस मनाइएको हैन । यो त उहाँको सम्झना स्वरुप यो दिन तोकेर विश्वका क्रिस्चियनहरुले खुशीयाली मनाइने चलन मात्र गरिएको हो ।
यसै कारणले पनि नेपालमा क्रिश्यिनहरुले क्रिसमस मनाउदा बाहिर भैरहेको जस्तो तडक भडक र झिलिमिलि प्रकारले मनाइदैन । क्रिस्चियनहरुले क्रिसमस चाडको बाहिरी आवरण भन्दा यसको वास्तविक अर्थलाई बढी महत्व दिएर मनाउछन् । क्रिसमसको दिन अर्थात २५ डिसेम्बर आउनु भन्दा केही समय अगाडिदेखि नै चर्चहरुमा येशूखिष्टको जन्मसँग सम्बन्धित बाइबलका वचन पढेर तथा भजन गीतहरु गाएर मनाइन्छ ।
नेपालमा क्रिश्चियन मात्र नभएर प्राय सबैले मनाउनु खुशीको कुरा हो । राज्यले पनि क्रिस्चियन समुदायको अस्तित्वलाई स्विकारेर क्रिसमसको दिनलाई सार्वजनिक बिदाको रुपमा घोषणा गरिसकेको छ । तर क्रिसमसको बाहिरी तडक भडकलाई मात्र महत्व दिएर यसलाई व्यापारिकरण नगरिकन यसको वास्तविक आत्मिकपक्ष र महत्वलाई बुझेर मनाउदा व्यक्ति, समाज र परिवार आशिषित र लाभान्वित हुनेछन् । क्रिसमसको खास अर्थ सबै मानिस पापी नै हुन्छन् । ती पापी मानिसहरुको आत्मा र शरिरलाई उद्दार गर्न परमेश्वरले आफ्नो एक मात्र पुत्र प्रभु येशूख्रिष्टलाई मानिसको रुपमा संसारमा पठाउनु भएको भन्ने हो । पापले गर्दा मानिस परमेश्वरबाट अलग्गिन पुगेको थियो र मानिस परमेश्वरकँहा पुग्न सक्दैनथ्यो ।
परमेश्वर र मानिसका रुपमा उभिएको पापको पर्खाललाई भत्काएर मानिसलाई परमेश्वरसँग मेलमिलाप गराउनका लागि येशूखिष्«ट संसारमा आउनु भएको हो । परमेश्वर र मानिसकोबीचमा मात्र नभएर मानिस र मानिसको बीचमा भएका सबै विभाजनका पर्खालहरुलाई भत्कााएर मानिसहरुकाबीचमा मिलाप र शान्ति ल्याउनका लागि येशूख्रिष्ट आउनु भएको हो । येशूको जन्मको बारेमा बाइबलको पुस्तक लुका २ अध्यायको ८ देखि ११ पद सम्म यस्तो लेखिएको छ (त्यही इलाकामा गोठालाहरु थिए, जसले चउरमा बसेर राती आफ्नो बगालको रखवाली गर्थे । प्रभुका एउटा श्वर्गदुत तिनिहरुकहाँ देखापरे र प्रभुको तेज तिनको वरिपरि चम्क्यो, अनि तिनीहरु साह्रै डराए । तब श्वर्गदुतले तिनीहरुलाई भने, ‘नडराओ’ किनभने हेर म तिमिहरुलाई बडो आनन्दका सुसमाचार सुनाउछु जो सबै मानिसहरुको निम्ति हुनेछ । आज दाउदको शहरमा तिमीहरुका निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ, जो ख्रिष्ट प्रभु हुनुहुन्छ । )
श्वर्गदुबतले गोठालाहरुलाई ‘नडराऊ’ यसरी येशूख्रिष्टको जन्मले मानिसलाई सबैखाले डर र भयबाट मुक्त गर्दछ । याँहा हामी यो पनि देख्नेदछौ की येशूख्रिष्टको जन्मको खबर आनन्दको खबर हो र यो आनन्दको खबर संसारभरिका सबै मानिसहरुको लागि हो यसबाट हामी यो कुरा बुझ्दछौ कि येशूख्रिष्ट संसारका सबै मासिहरुका लागि बचाउन आउनु भएको हो केबल इस्रायलीलाई मात्र हैन र सबै मानिसको मुक्तिदाता हुनुहुन्छ ।त्यसैले उहा पृथ्वीको बीचभाग अर्थात एशियाको इजरायलमा जन्मनु भयो । बाइबलको अर्को खण्ड एफिसीको पुस्तक २ अध्यायको १४ देखि १८ सम्म लेखिएको छ । (किनकी उहाँले नै हाम्रो शान्ति हुनुहुन्छ । उहाँले हामी दुवैलाई एउटै बनाउनु भएको छ र विभाजन ल्याउने शत्रुताको पर्खाल भत्काइदिनु भएको छ । र उहाँले व्यवस्थालाई त्यसका आज्ञाहरु र धार्मिक विधानहरु समेत आफ्नै शरिरमा खारेज गर्नु भएको छ कि यी दुइका सट्टामा उहाँले आफैमा एउटा नँया मानिस सृष्टि गरुन् र यसरी शान्ति स्थापना होस् । अनि उहाँले क्रुसद्वारा हामी दुवैलाई एउटै शरिरमा परमेश्वरसँग मेल गराएर शत्रुलाई शेष पार्नु भयो ।उहाँले आएर तिमी टाडा भएका र नजीक भएकाहरुलाई मिलापको सुसमाचार सुनाउनु भयो । किनकी उहाँद्वारा नै हामी दुवैले एउटै पवित्र आत्मामा पिताकँहा प्रवेश पाएका छौ । ) यो खण्डमा हामी देख्दछौ कि येशूखि«ष्ट हाम्रो शान्ति हुनुहुन्छ । उहाँले विभाजन ल्याउने शत्रुताको पर्खाल भत्काई दिनु भएको छ । जसबाट परमेश्वर र मानिस तथा मानिस र मानिसबीचको मिलाप संभव भएको छ । यसरी क्रिसमस चाड महत्वपूर्ण संदेश एक अर्काबीच क्षमा लिनु दिनु र मिलापमा रहनु हो । यदि सहि अर्थमा हामीले क्रिसमस मनाउने हो भने क्रिस्चियनहरुकाबीचमा र नेपालका सबै मानिसकाबीचमा क्षमा दिने र मिलाप गर्ने काम हुनु पर्दछ । हाम्रो देशको वर्तमान सामाजिक र राजनीतिक अवस्थामा क्रिसमसमा क्षमा र मेलमिलापको संदेशले धेरै ठूलो महत्व राख्दछ ।
यसपालीको क्रिसमसले नेपालका सबै क्रिश्चियनहरुकोबीचमा क्षमा, मिलाप एकता र प्रेमको वातावरण ल्याओस र साथै विभिन्न राजनिितक दल र नेताहरुकाबीचमा पनि क्षमा र मिलापको भावना उत्पन्न गराएर देशमा सबैलाई स्विकार्य हुने अग्रगामी नँया संविधान आउन सकोस ।
(लेखक राष्ट्रिय क्रिश्चियन महासंघ नेपालका वरिष्ट सल्लाहकार, नेपाल राष्टिय मण्डली परिषदका महासचिव, सगरमाथा चर्चका संस्थापक पास्टर, बौद्दिक मंचका अध्यक्ष एवं राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य हुनुहुन्छ ।)








