पुस ७।बेइजिङ,एचआइभी सङ्क्रमित एकजना आठ वर्षीय बालकलाई सो गाउँका नागरिकले विस्फोटक पदार्थका रुपमा व्यवहार गरेपछि उनलाई सरकारले पालनपोषण गर्ने भएको छ ।
उनी एचआइभी एड्स सङ्क्रमित भएकोले उनका कारण अरुलाई पनि सो सङ्क्रमण सर्नेभन्दै चीनको सिचुवान क्षेत्रका गाउँलेले उनलाई सो गाउँबाट निकाल्न माग गर्दै आएका थिए ।
उनका कारणले गाउँभरि एड्स सर्नसक्छ भनेर ती गाउँले डराएका समाचारमा जनाइएको छ । प्राप्त समाचारमा ती गाउँलेले उक्त बालकलाई गाउँबाट निकाला गर्न सरकारसँग आग्रह गरेका थिए ।
उनलाई सो गाउँबाट निकाल्न सरकारी कार्यालयमा पुगेका गाउँलेले भने,”यो बम जस्तै खतरा हो, यसका कारणले गाउँमा विस्फोट पदार्थजस्तै खतरनाक रुपमा एड्स सर्नसक्छ ।”
उनीहरुले ती बालकका कारण सो गाउँका २०० जना गाउँले त्रसित भएका र उनीहरुले ती बालकलाई अन्यत्रै सार्न सरकारसमक्ष विगतदेखि नै माग गर्दैआएका थिए ।
यसरी मागगर्नेमा उनका आफ्नै हजुरबुबा पनि रहेका समाचारमा उल्लेख गरिएको छ । यसरी ती गाउँलेले गाउँ निकाला गर्न माग गरेपछि उनलाई सरकारले पालनपोषण गर्ने भएको सोमबार जनाइएको छ ।
उनलाई विद्यालयमा पनि राम्रो व्यवहार नगरिएको पाइएको समाचार आएको थियो । सो समाचारपछि प्रहरीले उनीमाथिको दुव्र्यवहारको बारेमा अनुसन्धान गर्ने र उनका लागि आवश्यक पर्ने सबै सहयोग गर्ने बताएको छ ।
चीनको स्वास्थ्यमन्त्रालयले पनि एचआइभी सङ्क्रमितहरुमाथि हुने गरेका व्यवहारका बारेमा अनुसन्धान थाल्ने बताएको छ ।
चीनमा एचआइभी सङ्क्रमितहरुमाथि यस्तो व्यवहार हुने गरेका समाचारहरु आइरहेका हुन्छन् । सो कारणले गर्दा कतिपय अवस्थामा सङ्क्रमितले उपचार पनि पाउन नसकेको बताइँदै आएको छ । एएफपी








