पुस ७ ।रामेछाप, बालिका यौन दुराचारका अभियुक्त पूर्व प्रधानाध्यापक भलुवाजोर ३ का ५२ वर्षीय विष्णुबहादुर थापालाई रामेछाप जिल्ला अदालतले १६ वर्ष कैदको सजाय सुनाएको छ ।
६ र ८ वर्षिया दुई नाबालिकामाथि अप्राकृतिक यौन दुराचार गरेको आरोपमा थापालाई रामेछाप जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले ५०/५० हजार रुपियाँ जनही क्षतिपूर्तिसहित हदैसम्म सजाय गर्ने फैसला गरेको हो ।
यो मुद्दा अभियोग दर्ता भएको १५ दिनभित्रै फैसला भएको रामेछाप जिल्ला अदालतका श्रेष्तेदार मोहन सुवेदीले बताए ।
सुवेदीका अनुसार मंसिर २१ गते अभियोग दर्ता भएको र निरन्तर सुनुवाई प्रक्रियाबाट १५ दिनभित्रै फैसला भएको हो ।
जिल्ला अदालतले गरेको फैसलाबाट आफूहरुलाई न्यायको महसुस भएको पीडित परिवारले प्रतिक्रिया दिएका छन् ।








