दैलेखका सीडीओको गाडीले किचेर डेढ बर्षे बालिकको मृत्‍यु

पुस ५ ।दैलेख, जिल्ला प्रशासन कार्यालय दैलेखको गाडीले किचेर २२ महिने बालिकाको मृत्‍यु भएको छ ।

त्रिभुवन नमुना उच्च माविमा भइरहेको परीक्षा अनुगमनका लागि जाँदा प्रमुख जिल्ला अधिकारी (सिडिओ) सागरमणि पराजुली चढेको बा १ झ ७६५८ नम्बरको गाडीले किचेर बालिका खुशी मल्लको मृत्‍यु भएको हो ।

सिडिओ पराजुलीलाई परीक्षा अनुगमनका लागि त्रिभुवन नमुना उच्च मावि नजिकको पिपल चौतारीमा छोडेर गाडी घुमाउने क्रममा पिपलको बोट मुन्तिर खेली रहेकी बालिकालाई अगाडीको चक्काले किचेको थियो ।

प्रजिअ पराजुली गाडीबाट झरेर विद्यालयको गेटभित्र पसिसकेको बेला एक्कासी चिच्चाएको आवाज आएपछि आफु फर्केर घाइतेलाई उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय लिन प्रहरीलाई भनेपछि प्रहरीको गाडीले बालिकालाई उपचारका लागि स्वास्थ्य कार्यालयमा पुर्याएको थियो ।

सवारी चालक धनीराम चौधरीले आफुले केही नदेखेको र गाडी घुमाउँदा बालिका किचिएपछि थाहा पाएको बताएका छन् ।
घाइते बालिकालाई उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेख लगिएको १ घण्टामा मृत्यु भएको थियो । जिल्ला स्वास्थ्य कार्यालयमा समयमै डाक्टरको उपस्थिति नभएको पीडित परिवारले गुनासो गरेका छन् ।
प्रहरीले चालक धनीराम चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु