विदेश जानेले सुन ल्याउनथालेपछि रेमिट्यान्स आय घट्यो

Goldपुस १ काठमाडौ, विदेशबाट फर्किने नेपालीले पैसाको सट्टा सुन र टेलिभिजन ल्याउने प्रचलन बढ्दै गएपछि अर्थतन्त्रको आधार रेमिट्यान्स आयमा प्रभाव पर्न थालेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको असोजसम्ममा रेमिट्यान्स ०.६ प्रतिशतले घटेको छ । जबकि अघिल्लो आर्थिक वर्षको यही अवधिमा रेमिट्यान्स आय ३८.२ प्रतिशतले बढेको थियो ।

‘झिटिगुन्टा’ ब्यवस्था अन्तर्गत विदेशबाट फर्किने नेपालीले प्रतिब्यक्ति ५० ग्राम (४.३) तोला सुन बिनाभन्सार ल्याउन पाउने सुविधा छ । यो सुविधाअन्तर्गत सुन ल्याएर नेपाली बजारमा बिक्री गर्दा २५-३० हजार रुपैयाँ फाइदा हुन्छ । अहिले सरकारले सुनमा प्रति १० ग्राम ५,२०० रुपैयाँ भन्सार लिँदै आएको छ ।
यसैगरी विदेशमा ६ महिनाभन्दा बढी समय बसेर फर्किने नेपालीले ३२ इन्च भन्दा कमको टेलिभिजन ल्याउँदा भन्सार लाग्दैन । यिनै सुविधा उपयोग गर्दै विदेशबाट फर्किनेहरुले सुन र टेलिभिजन ल्याएर बजारमा बेच्ने प्रचलन बढेकाले बैंकिङ प्रणालीबाट आउने रेमिट्यान्स आयमा असर परेको सरकारी अधिकारी बताउँछन् ।
राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले ‘झिटीगुन्टा’ ब्यवस्था अन्तर्गत सुन र टेलिभिजन ल्याउन पाउने सुविधाका कारण रेमिट्यान्स आयमा असर परेको हुन सक्ने बताए ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अध्यक्ष मणिरत्न शाक्यले झिटिगुन्टा सुविधा धेरै पहिलेदेखि भए पनि नेपाली बजारमा सुन अभाव भएपछि यसको प्रचार भएको र विदेशबाट फर्किदा सुन ल्याउनेहरु बढ्दै गएको बताए । भन्सार तिर्नुनपर्ने भएकाले यो सुविधाअन्तर्गत सुन ल्याउने ब्यक्तिलाई बजारमा बेच्दा २५ हजार रुपैयाँ बढी फाइदा हुने उनले बताए ।कारोबार दैनिकबाट साभार ।

 

 

 

सम्बन्धित शिर्षकहरु