मंसिर २७ ।कञ्चनपुर,राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय धनगढीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अछाममा छाउपडी प्रथाका कारण गत वर्ष मात्रै ७ जना महिलाले ज्यान गुमाएका छन् ।
छाउपडी प्रथालाई मान्यता दिएर महिलाहरुलाई जथाभावी गोठहरुमा राखिदा स्वास्थ्य झन कमजोर बन्ने तथा सर्प दंशको कारण उनीहरुको अनाहकमा ज्यान जाने गरेको आयोगले जनाएको छ ।
सुदूरपश्चिमको मानव अधिकारको अवस्था अध्ययनका क्रममा अछाम जिल्लामा पुग्दा यो तथ्य फेला परेको आयोगका निमित्त क्षेत्रीय निर्देशक मोहनदेव जोशीले बताउनुभयो ।
छाउपडी प्रथा उन्मूलनका निमित्त थुप्रै अभियानहरु सञ्चालन भए पनि खासै परिवर्तन हुन नसकेको उहाले बताउनुभयो ।
यस्तै सुदूरपश्चिम क्षेत्रमा घरेलु हिंसा, सामाजिक हिंसा, चेलीबेटी बेचविखन तथा यौनजन्य हिंसाबाट महिलाहरु बढी पीडित रहेको आयोगले जनाएको छ ।








