मंसिर १७ । बर्दियाको रम्मापुर ब्यारेकनजिक अज बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।
काठमाडौँबाट महेन्द्रनगरतर्फ गइरहेको ना५ख १३०७ नम्बरको यात्रुवाहक बस बिहान ४ बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत मगरागढी-८ रम्मापुर ब्यारेकनजिक पल्टिँदा दुईजनाको घटनास्थलमा नै मृत्युभएको हो ।
घाइते मध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन ।
बसमा ३६ जना सवारमध्ये बसमा च्यापिएका मृतक दुईजनालाई जेसिबीको प्रयोगबाट निकाल्ने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।
बाँकी १५ जना गम्भीर घाइतेसहित छजना सामान्य घाइतेलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ ।
कुहिरोका कारण बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ ।
बसका दुई चालकमध्ये एक फरार रहेको र एकलाई इलाका प्रहरी कार्यालय बाँसगढीले नियन्त्रणमा लिएको छ ।








