भारतमा बन्ध्याकरणमा भएका मृत्युका विषयमा औषधि उत्पादक पक्राउ

भारत,  भारतमा सामूहिक बध्याकरण कार्यक्रममा १३ महिलाको मृत्यु भएपछि प्रमाण नष्ट गरेको आरोपमा औषधि उत्पादक कम्पनीका मालिक तथा उनका छोरालाई प्रहरीले  पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार छत्तीसगढ राज्यको मध्यभागमा रहेको उनीहरूको कारखानामा छापा मारेपछि यी दुई पुरुषलाई शुक्रबार हिरासतमा लिएको हो । दर्जनौँ महिला शल्यक्रियापछि अझै पनि अस्पतालमा उपचारका लागि रहेका छन् ।

भारतमा गरिब महिलालाई बन्ध्याकरण गर्न अभिप्रेरणाका लागि नगद दिइने गरिन्छ । यी महिलाको मृत्युपछि यस कायक्रमको व्यापक रूप्मा आलोचना गरिएको छ । मानव अधिकारवादी कार्यकर्ताहरूले यस्तो शल्यक्रियामा प्रायः नराम्रो अवस्था देखिने गरेको उल्लेख गरेका छन् ।
प्रहरी सुपरिन्टेन्डेन्ट ओमप्रकाश पालले राज्यको राजधानी रायपुरमा उनीहरूले सञ्चालन गरेको औषधि कारखानामा गुणस्तरीय औषधि बनेको वा नबनेको भन्ने विषयमा उनीहरूलाई प्रश्न गरिने जानकारी दिनुभयो ।
एक दिनअगाडि प्रहरीले उक्त शल्यक्रिया गर्ने चिकित्सक आर.के. गुप्तालाई हिरासतमा लिएको थियो । गुप्ताले कम गुणस्तरको औषधिका कारण उक्त मृत्यु भएको बताएका छन् ।
स्थानीय एक अधिकारीले आफ्नो नाम नबताउने सर्तमा पक्राउ परेका यी पुरुषका कारखानामा प्रमाण जलाइएको देखिएको बताए ।
उनले आफूहरूले कारखानामा छापा मार्दा त्यहाँ ठूलो मात्रामा औषधि जलाइएको फेला पारिएको बताए ।
गुप्ताले शनिबार पाँच घण्टाको समयमा ८३ महिलामा बन्ध्याकरण गरेका थिए । उनले एक महिलालाई शल्यक्रियामा औसतमा चार मिनेटभन्दा कम समय दिएका थिए ।
गुप्ताले आफूलाई सरकारले बलिको बोका बनाएको आरोप लगाए । भारतमा गरिब महिलाले बन्ध्याकरण गर्दा एक हजार ४०० रूपैयाँ पाउने गर्छन् ।
हालसम्म यी महिलाको मृत्युको कारण औपचारिक रूपमा स्पष्ट भएको छैन । अधिकारीहरूले यी महिलाले विषाक्तपना भोगेको अनुमान गरेका छन ।
राज्यले यस विषयमा न्यायिक छानबिन आरम्भ गरेको छ । मुख्यमन्त्री रमण सिंहले यी महिलामा प्रयोग भएको औषधिमा पनि परीक्षण भइरहेको बताउनुभयो ।
सरकारले अनुसन्धानका लागि उक्त शिविरमा प्रयोग भएका पाँच औषधि प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । त्यसमा ‘एन्टिबायोटिक’ तथा पीडानिवारक (पेन किलर) औषधि परेका छन् ।
पीडित महिलाले अकस्मात वान्ता गर्न थालेका थिए भने उनीहरूमा रक्तचाप घटेको थियो । उनीहरूमा बन्ध्याकरणका लागि डिम्ववाही नली बन्द गर्ने ‘ल्यापरोस्कोपिक’ शल्यक्रिया गरिएको थियो ।
ह्युमन राइट्स वाचले स्वास्थ्य कार्यकर्ताहरूले आफ्नो औपचारिक लक्ष्य पूरा गर्न महिलालाई बन्ध्याकरण गर्न दबाब दिने गरेको आरोप लगाएको छ ।
स्वास्थ्यमन्त्री जगत प्रकाश नाडाले भारतको एक अर्बभन्दा बढी जनसङ्ख्यामा थप वृद्धि रोक्ने प्रयासमा स्थानीय अधिकारीहरूलाई बन्ध्याकरणका लागि लक्ष्य निर्धारण नगरिएको बताउनुभएको छ ।
संयुक्त राष्ट्र सङ्घले उक्त मृत्युका लागि जिम्मेवार भएका व्यक्तिलाई कारवाही गर्नुपर्ने र गर्भ निरोधक उपायका लागि कुनै पनि प्रकारको अभिप्रेरणा दिन नहुने माग गरेको छ ।
मुख्यमन्त्री सिंहले शल्यक्रिया गर्ने चिकित्सक तथा त्यसमा अनुगमन गर्ने अधिकारीलाई बर्खास्त गर्नुभएको छ ।
शल्यक्रिया विलासपुरको बाहिरी भागमा बन्द गरिएको अस्पतालमा भएको थियो । शुक्रबार उक्त स्थानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतमा सन् २०१० देखि हालसम्म बन्ध्याकरणबाट ३३६ व्यक्तिको ज्यान गएको सरकारी तथ्याङ्कमा देखिएको छ । एएफपी

सम्बन्धित शिर्षकहरु