नयाँ दिल्ली, भारतको मध्यप्रदेशमा कसैले खुलास्थानमा दिसा गरेको देखिए त्यस्ता व्यक्तिलाई लाजलाग्ने बनाउन छिटै बालबालिकालाई सिठी दिएर गाउँमा गस्ती गर्न पठाइने भएको समाचार प्राप्त भएको छ ।
मध्यप्रदेशको सरकारले सरसफाइका लागि अनौठो प्रयास छिटै आरम्भ गर्ने भएको छ । यस कार्यक्रममा स्कुले बालबालिकालाई उनीहरूले कसैले शौचालय प्रयोग नगरी खुला स्थानमा दिसापिसाप गरेको फेला पारे सिठी बजाउन लगाइनेछ ।
भारतमा खुलास्थानमा दिसापिसाप गर्नु स्वास्थ्य तथा सरसफाइका लागि प्रमुख समस्याको रूपमा लिइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो चार वर्षमा प्रत्येक घरमा शौचालय निर्माण गरिने जानकारी दिनुभएको छ ।
मध्यप्रदेशका अधिकारीहरूले मानिसहरू शौचालय प्रयोग गर्नुको सट्टा खुलास्थानमा दिसापिसाप गर्न मनपराउने भएको बताएका छन् । यस्तो बानीले रोग फैलाउने भएकाले यसलाई रोक्न अनौठो प्रयास गरिने पनि उनीहरूले जानकारी दिएका छन् ।
इन्दौर क्षेत्रको प्रादेशिक आयुक्त सञ्जय दुबेले पक्का शौचालय बनाउनु मात्र प्रर्याप्त नभएको र ग्रामीण क्षेत्रमा खुलास्थानमा दिसापिसाप गर्ने बानी रोक्नुपनि आवश्यक भएको पीटीआईलाई बताउनुभयो ।
उहाँले यस्तो कार्य रोक्न प्रभावकारी सामाजिक अभियान सञ्चालन गर्नु आवश्यक भएको बताउनुभयो ।
उहाँले यी बालबालिकालाई आफ्नावरपरका स्थान सफा राख्नुपर्ने विषयमा शिक्षा दिएर छिमेकमा घुम्नका लागि सिठी उपलब्ध गराइने जानकारी दिनुभयो ।
उहाँले यस्तो सिठीले खुला स्थानमा दिसापिसाप गर्ने व्यक्तिलाई लाजलाग्ने अवस्था बनाउने र यस्तो कार्य रोक्न सहयोग गर्ने बताउनुभयो ।
भारत कमजोर सार्वजनिक स्वास्थ्य तथा सफाइका लागि परिचित छ र प्रधानमन्त्री मोदीले भारतलाई सफा राख्नुपर्ने आवश्यकताका बारेमा जोड दिनुभएको छ ।
संयुक्त राष्ट्र सङ्घको बाल कोष युनिसेफले भारतका करिब ५९ करोड ४० लाख अर्थात करिब ५० प्रतिशत जनताले खुलास्थानमा दिसापिसाप गर्ने अनुमान गरेको छ ।
यसका साथमा करिब ३० करोड महिला तथा बालिकालाई रातीको समयमा खुलास्थानमा दिसापिसाप गर्न बाध्य बनाइन्छ र यस अवधिमा उनीहरूमाथि दुव्र्यवहार हुनेगरेको बताइन्छ ।
मे महिनामा १२ र १४ वर्षकी दुई बालिका यसरी बाहिर निस्कदा उनीहरूमाथि आक्रमण भएको र उनीहरूलाई मारेर झुण्ड्याउनुअगाडि उनीहरूमाथि सामूहिक बलात्कार भएको देखिएको छ । एफएपी








