कात्तिक १३ ।जनकपुरधाम,तराईका नेपालीहरुले मनाइरहेको छठ पर्व आज समापन गरिएको छ । बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरिएको हो । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजापाठ गरी यो पर्वको समापन गरिने परम्परा छ ।
श्रद्धालु यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुकमिनी सर, अग्निकुण्डलगायतका पोखरी र तलाउमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर आफ्नो खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ चढाएका थिए ।
सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने विश्वास छ । छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरु पनि त्यतिकै छन् ।
वैज्ञानिक, ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।








