
काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जनभावना अनुसार चल्न नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुलाई निर्देशन दिएका छन्। शुक्रबार काठमाडौँमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३३ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पुनले विद्युत प्राधिकरणप्रति सेवाग्राहीको गुनासो बढेको भन्दै जनभावनाअरुप काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन्। उनले जनताको भवनाअनुरुप काम नगर्ने कर्मचारीलाई पदबाट बर्खास्त गर्ने चतावनी समेत दिए। ‘प्राधिकरणका कर्मचारीले जनताको अवाजको वेवस्था गरेको गुनासो आएको छ’, उनले भने, ‘जनताको अवाज नसुन्ने कर्मचारीलाई हटाउन सकिन्छ, त्यसैले सचेत भएर काम गर्नुहोस्।’
राम्रो काम गर्ने कर्मचारीलाई जनताले पनि सम्मान गर्ने भन्दै मन्त्री पुनले सम्मान पाउने गरी काम गर्न निर्देशन दिए। उनले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नेगरी कामलाई अघि बढाउन पनि नेपाल विद्युत प्राधिकरणलाई निर्देश गरेका छन्। ‘निजी क्षेत्रसँग प्रतिस्पर्धा नगरे प्राधिकरणको औंचित्य समाप्त हुन्छ’, उनले भने, ‘प्रतिस्पर्धामा उत्रेर काम गर्नुहोस्, सरकारको पूर्ण साथ र सहयोग रहन्छ।’
मन्त्री पुनले प्राधिकरणको नियमनका लागि विद्युत नियमन आयोग गठन गर्ने घोषणा पनि गरे। उनले आयोग गठन गर्नका लागि सरकारले ऐन र नियमावली बनाउने कामलाई सम्पन्न गरिसकेको जानकारी दिए।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव एवम् प्राधिकरणका अध्यक्ष अनुपकुमार उपाध्यायले नागरिकलाई गुणस्तरीय सेवा वृद्धिमा ध्यान दिन प्राधिकरणलाई सचेत गराए। उनले जनताको चाहेकै ठाउँमा विद्युत उपलब्ध गराउनका लागि आवश्यक योजना बनाउन ढिलाई गर्न नहुनेमा पनि जोड दिए।
कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणको वार्षिक प्रगति विवरण पेश गर्दै यसको सेवालाई भरपर्दो, गुणस्तरीय र सर्वसुलभ बनाउनु प्राधिकरणको मुख्य चुनौति रहेको बताए। उनले विद्युतको नियमित आपूर्ति र चुहावट नियन्त्रण नै एक वर्षको मुख्य अभियान भएको पनि जानकारी दिए।
प्राधिकरणले यस वर्ष १ अर्ब १ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ। प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले नियमित विद्युत आपूर्ति र चुहावट नियन्त्रणका कारण प्राधिकरणले सो मुनाफा आर्जन गर्न सफल भएको पनि स्पष्ट पारे।








