नेपाली सेनाको ‘भेट्रान भेला’ आजदेखि सुरु
कात्तिक १० । काठमाडौं,अल्पकालीन एवं दीर्घकालीन कार्ययोजनाबारे समीक्षा गर्ने उद्देश्यले नेपाली सेनाले आजदेखि राजधानीमा ‘भेट्रान भेला’ सुरु गरेको छ ।
भोलीसम्म जंगी अड्डामा हुने सो भेलामा पूर्व प्रधानसेनापति र पूर्वरथीहरुको सहभागिता रहनेछ ।
नेपाली सेनाले अवलम्बन गरेका अल्पकालीन एवं दीर्घकालीन कार्ययोजनाबारे समीक्षा गर्न विगतमा जस्तै यो भेलाको आयोजना गरिएको जंगी अड्डाले जनाएको छ ।
नेपाली सेनाको व्यवसायिकताको विकासका विभिन्न पक्षहरु एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय सुरक्षा एवं सामरिक परिवेश तथा राष्ट्रिय हितका बारेमा पूर्वरथीहरुको अनुभव तथा ज्ञान र सीपको उपयोग गर्ने उद्देश्यले भेला सञ्चालन गर्न लागिएको बताइएको छ ।
भेलामा पूर्वप्रधानसेनापतिहरु र पूर्वरथीका साथै कायममुकायम रक्षा सचिव तथा अन्य पदाधिकारीहरु एवं वहालवाला रथीहरुको पनि उपस्थिति रहने छ ।
कार्यक्रममा विभिन्न विषयमा प्रस्तुतीकरण, छलफल र अन्तरक्रिया हुने सेनाले जानकारी दिएको छ ।







