पुस १९ । म्याग्दी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् श्रम विभाग संयोजक बद्री पाण्डेले तराई मधेसको समस्या समाधान गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताएका छन्
सरकारले गठन गरेको वार्ता टोलीले आन्दोलनरत पक्षसँग प्रभावकारी तरिकाले छलफल अघि बढाउन नसकेको जनाउँदै उनले कांग्रेसले आन्तरिक रुपमा विभिन्न चरणमा वार्ता गरिरहेको उल्लेख गरे।
नेपाल ट्रेड युनियन, म्याग्दीले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य पाण्डेले तराई आन्दोलनको समाधानको सूत्रधार काँग्रेस नै हुने दाबी गरे। आगामी १३औँ महाविधेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा उनले जोड दिए ।
ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष दुर्गाराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति एवम सांसद् रेशम बानियाँ, नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् ट्रेड युनियनको केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामजी कुँवर, पश्चिमाञ्चल क्षेत्रीय उपाध्यक्ष मुरारी शर्मा, नेपाली कांग्रेसका सचिव माधवप्रसाद रेग्मी, आबद्ध संस्थाहरुका तर्फबाट नेपाल शिक्षक सङ्घका अध्यक्ष केशवप्रसाद रेग्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।








