असोज ३१ ।विराटनगर,नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले निर्धारित समयमा संविधान जारी नभए मुलुकमा अन्योल छाउने भएकाले जसरी भए पनि संविधान जारी गर्नेतर्फ दलहरु क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ ।
नयाँ संविधान जारी नभएसम्म वर्तमान सरकार परिवर्तन नहुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले वर्तमान सरकार संयुक्त सरकार भएकाले सानातिना विवाद आउँदैमा सरकार परिवर्तन नहुने दाबी गर्नुभयो ।
नेत्री भण्डारीले सङ्घीयता, शासकीय स्वरुप तथा निर्वाचन प्रणालीलगायतका विषयमा दलहरुबीच सहमति नभए जनताका बीचमा गएर विवादित विषयलाई जनमत सङ्ग्रहबाट टुङ्ग्याउनुपर्ने पर्ने धारणा प्रकट गर्नुभयो । एमाले नेत्री भण्डारीले आगामी माघ ८ गते नयाँ संविधान जारी गर्नुबाहेक दलहरुसँग अरु विकल्प नभएकाले दलहरुबीच सहमति नभएका विषयलाई थाती राखेर संविधान जारी गर्नुपर्ने बताउनुभयो ।








