असोज २६ । बारा, स्थानीय प्रशासनले बाराको सिम्रौनगढमा आज फेरि कर्फ्यू जारी गरिएको छ ।
प्रशासनले मध्यान्ह १२ बजेदेखि कर्फ्यू आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बारामा आज बिहान बसेको जिल्ला स्तरीय सुरक्षा समितिको बैठकले सिम्रौनगढमा सुरक्षा चुनौती थपिएको ठहर गर्दै आज पनि कर्फ्यू लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद दुलालले जानकारी दिनु भयो ।
यसअघि स्थानीय प्रशासनले शनिबार दिउँसो ३ बजेदेखि बेलुकी ७ बजे सम्म पनि कर्फ्यू जारी गरेको थियो ।
सडक मर्मतको माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीयवासी माथि सशस्त्र प्रहरीले चलाएको गोली लागेर हरिहरपुर गाविस वडा नम्बर ७ का ४० वर्षीय जयनारायण पटेलको मृत्यु भएपछि सिम्रौनगढमा शनिबारदेखि नै तनाव छ ।
यसैबीच स्थानीय प्रशासनले कर्फु लगाउने घोषणा गरे पनि मृतकका आफन्त र स्थानीयवासीले आज पनि बिहानैदेखि मृतक पटेलको शव ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखेर धर्ना दिइरहेका छन् । प्रहरीको गोली लागेर पटेलको मृत्यु भएपछि आक्रोशित गाउँलेले ना १ झ ७२० र ना १ ग ५८८ नम्बरको प्रहरीका दुईवटा भ्यान जलाएका थिए ।
बाराको सिम्रौनगढ क्षेत्र अन्तर्गत पर्ने हरिहरपुर गाविसको महादेव मन्दिर नजिक प्रहरी र स्थानीयबीच भएको झडपमा परी अन्य दुई जना घाईते भएका छन् ।







