आज दशैको महाअष्टमी

असोज १६ ।काठमाडौं बढादशै अन्तर्गत महाष्टमी पर्व आज हिन्दु नेपालीहरुले दुर्गा भवानीको पूजा आजा गरी भब्यताका साथ मनाइरहेका छन ।

आजको दिन शास्त्रसम्मतरुपमा दसैंघर, कोतलगायत राज्यका बिभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा भवानीको बिशेष पूजा आजा गरिन्छ। दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ।

बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको बिशेष पूजा आजा गरी मनाइदैछ।

सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ। सात्विक जल, चन्दन, र अक्षता लगायत षोडशोपचारले गरिने पूजा हो। सात्विक र पशुबली सहितको पूजालाई राजस पूजा भनिन्छ।

आजैका दिन राती कालरात्रीका रुपमा पशुबलीको विधि र पूजा आजा सहित मनाउने गरिन्छ। कालरात्रीको पूजा विधि र संकल्प समेत छुट्टै हुने भएकाले यसको बिशेष महत्व रहेको छ। ब्राह्मणले भने कालरात्री पूजा पनि गर्न नपर्ने विधान रहेको छ।

आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सड्कटा, वज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई लगायत मन्दिरहरुमा पनि बलीसहित पूजा आजा गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गर्छ।

यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलदुराको उग्रतारा, काभ्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती लगायतका शक्तिपीठहरुमा पनि बलीसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुँइचो लाग्ने गर्छ।

पशुबली नचढाउनेहरुले भने आज पूजा कोठामा काँक्रो, घिरौंला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाई पूजा आजा गर्ने गर्छन्।

सम्बन्धित शिर्षकहरु