असोज १६ । काठमाण्डौ,संयुक्त राष्ट्रसङ्घको ६९ औँ महासभामा भाग लिन जानु भएका प्रधानमन्त्री सुशील कोइराला संयुक्त आज अपरान्ह स्वदेश फर्कँदै हुनुहुन्छ ।
महासभालाई प्रधानमन्त्री कोइरालाले यही असोज १० गते सम्बोधन गर्नुभएको थियो ।
महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहँदा उहाँले जलवायु परिवर्तन र सुरक्षा परिषद्सम्बन्धी सम्मेलनमा समेत सहभागिता जनाउनुभयो ।
महासभामा नेपालका तर्फबाट जलवायु परिवर्तनबाट मानव र प्रकृतिमा देखापरेको असरलाई घटाउने तथा जनसङ्ख्या व्यवस्थापन र विकाससम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाइएको थियो ।
साथै भूपरिवेष्ठित र अल्पविकसित मुलुकले प्राप्त गर्नुपर्ने सुविधालगायतका विषयमा पनि नेपालले राष्ट्रसङ्घमा कुरा उठाएको छ ।
एक साता लामो न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री कोइरालाले राष्ट्रसङ्घका महासचिव वान कि मुन, अमेरिकी राष्ट्रपति बाराक ओबामा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी,पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना बाजेद तथा श्रीलङ्काका राष्ट्रपति महेन्द्रा राजपाक्षसँग भेटवार्ता गर्नुभएको थियो ।
महासभामा भाग लिएर स्वदेश फर्कने क्रममा प्रधानमन्त्री कोइरालाले बाटोमा पर्ने युरोपेली मुलुक बेल्जियम र लक्जम्बर्गको तीन दिने भ्रमणसमेत गर्नुभएको छ ।
त्यस क्रममा उहाँले युरोपियन काउन्सिलका अध्यक्ष र कमिसनका अध्यक्षसँग भेटघाट गर्नुभयो ।
प्रधानमन्त्री कोइरालाले युरोपको सानो मुलुक लक्जम्बर्गको समेत हिजो भ्रमण गर्नुभयो ।
ब्रसेल्समा रहँदा उहाँले युरोपेली मुलुक र इजरायलमा कार्यरत राजदूत र नियोग प्रमुखको भेलालाई सम्बोधन गर्दै मुलुकको इज्जत र प्रतिष्ठा बढाउने तथा लगानी भित्र्याउने काममा भूमिका खेल्न निर्देशन दिनुभएको थियो ।
प्रधानमन्त्री कोइराला महासभामा भाग लिन यही असोज ३ गते २२ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यूयोर्क प्रस्थान गर्नुभएको थियो ।








