असोज १० काठमाडौँ – न्यायको खोजीमा अनसनपछि प्राण गुमाएका चितवन गोरखा फुजेलका नन्द प्रसाद अधिकारीको लास बिहीवार सम्म कसैले दाबी गरेका छैन् ।
५२ वर्षीय अधिकारीको बीर अस्पतालको आइसियु बेड संख्या १७ मा सोमवार साँझ पाँच बजे मृत्यु भए पछि शवलाई त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा भएको मर्चरीमा राखिएको थियो ।
‘अझै कोइ शव लिन आएको छैन’, विभागका डा. हरिहर वस्ती भन्छन्,’सामान्यतया २२/२५ दिन पछि समेत शव लिन कोइ आएन भने वेवारिसे भनेर राज्यले उचित संस्कार गर्ने परिपाटी छ ।’
हाल मर्चरीमा अधिकतम १५ वटा शव राख्ने ठाउँ भए पनि सधै २५/३० वटा राखिने गरिएको औल्याउदै डा.बस्ती अगाडी थप्छन,’यहाँ नाउ र पहिचान खुले पनि कोइ दावी गर्न नआए पछि के गर्ने, शव राख्ने ठाउँ छैन ।’
विदेशीको शव पाँच पहिनासम्म मर्चरीमा राखिएको तथ्याङ्क भए पनि नेपालीको शव एक महिना नविन्दै गाड्ने वा डढाउने गरिन्छ ।
मर्चरीमा एकै ठाउँमा तीनवटा शवसमेत राख्नु पर्ने स्थिति रहेको औल्याउदे डा.बस्ती भन्छन-‘यहाँ को क्षमता, सुविधा आदि केही छैन, स्थिति धेरै दयनीय छ ।’
एउटा शव बढी समयसम्म राख्दा अन्य व्यक्तिहरु समेत केही समय शवलाइ संरक्षित राख्नु पर्ने सुविधाबाट बञ्चित हुनुपर्ने स्थिति आउन सक्ने दाबी उनको छ ।
छोरा कृष्णप्रसादको हत्यारालाई कारवाहीको मांग गर्दे नन्द प्रसाद र उनको श्रीमती गंगामायाले अनसन शुरु गरेका थिए । अधिकारी दम्पत्तिले २०७० साल श्रावण १६ गते आफनो ४७ दिन लामो अनसन तोडे पछि पुनः शुरु गरेर गत सोमवार तिन सय २९ सौं दिनमा नन्द प्रसाद वितेका हुन ।
असोज दुई गते उनको स्वास्थ्य अवस्था अलि कमजोर भएको थियो । अधिकारीले त्यो भन्दा अघि करिव दुई साता भन्दा बढी समय उनलाई तागत दिने टोटल प्यारेनटल न्युटि्रशन (टिपीएन) , एन्टिवायोटिक र अरु विभिन्न प्रकारको औषधि लिन अस्विकार गरेका थिए । स्लाइन मात्र दिने गरिएको थियो । यसले गर्दा उनको स्वास्थ्य स्थिति झन कमजोर भएरको थियो ।
साभार: कान्तिपुर








