भदौ २९ ।बगदाद,सिरिया र इराकमा संघर्षरत इस्लामिक अतिवादी संगठन इस्लामिक स्टेट –आइएस)ले एक बेलायती नागरिकको घाँटी रेटेर हत्या गरेको भिडियो सार्वजनिक गरेको छ।
बेलायती नागरिक डेभिड हेंसलाई गत वर्ष सिरियामा मानवीय सहयोग पुराउन जाने क्रममा अपहरण गरिएको बेलायती अधिकारीहरुले बताएका छन् । बेलायती विदेश मन्त्रालयले भने भिडियोको आधिकारिकता जाँच भइरहेको बताएको छ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले इस्लामिक स्टेटको हातबाट बेलायती नागरिक डेभिड हेंसको हत्या भएकोमा आलोचना गरेका छन् । क्यामरुनले हत्यामा संलग्नहरुलाइृ सजाय दिने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री क्यामरुनले डेभिड हेंसले असाधारण साहस देखाएको बताएका छन् । ४४ वर्षीय हेंस बेलायतको पर्थ निवासी हुन् । उनी दुई सन्तानका पिता हुन् ।
इस्लामिक स्टेटले अमेरिकी पत्रकार स्टीभेन सोटलफको हत्याको भिडियोमा अमेरिकी हवाई आक्रमण बन्द नभएकाले गरेको बताएको थियो । उनीहरुले हेंसको हत्या गर्ने चेतावनी यसअघि नै दिएका थिए ।
इस्लामिक स्टेटका कार्यकर्ताहरुले यसअघि दुई अमेरिकी पत्रकार जेम्स फाली र स्टीभेन सोटलफको घाँटी रेटेर हत्या गरिसकेका छन् ।
अमेरिकी खुफिया एजेन्सीहरुले भिडियो छानविनपछि पुष्टि गरेका थिए ।
बेलायतको विदशे मन्त्रालयले हेंसको हत्या भएको जानकारी परिवारलाई गराइसकेको जनाउको छ। हिजो मात्र हेंसका परिवारले बेलायती विदेश मन्त्रालयमार्फत एक अपिल जारी गर्दै हेंसको हत्या नगर्न आग्रह गरेृका थिए ।
हेंसको हत्या गरिएको भिडियोमा अपहरणमा परेका अर्का बेलायती नागरिकको पनि हत्या गर्ने चेतावनी दिइएको छ। एजेन्सी








