संविधान सभाका लागि १७ जना सभासद् मनोनीत

भदौ १४ । काठमाडौँ, संविधानसभा निर्वाचन सम्पन्न भएको नौ महिनापछि सरकारले १७ जनालाई आज सभासद मनोनयन गरेको छ ।

२६ जना मनोनयन गर्नु पर्ने स्थानमा अब बाँकी नौ सभासद्को मनोनयन गर्नु पर्नेछ ।

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राधेश्याम अधिकारी (काठमाडौँ), शिवबहादुर खड्का (रामेछाप), पुष्कर आचार्य (मोरङ), रेशम बानियाँ (म्याग्दी), शकलदेव सुतियार (सप्तरी), सूर्यदेवदास उराव (सुनसरी), उमेश श्रेष्ठ (काठमाडौँ), अनिलकुमार रुङ्गटा (पर्सा), उदय नेपाली श्रेष्ठ (धनकुटा), अग्नि खरेल (झापा), गङ्गा डाँगी (मोरङ), मीरा धुजु (काठमाडौ), पेम्बा भोटे (बाजुरा), पर्तमान धिमाल (मोरङ), नरेश खरेल (झापा), डा राजन भट्टराई (काठमाडौँ) र गणेश थापा (काठमाडौँ)लाई मनोनयन गरेको सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले शुक्रबार साँझ जारी गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

सरकारले हालैको बाढीपहिराबाट मृत्यु भएकाहरुका परिवारलाई किरिया खर्चबाहेक प्रतिपरिवार राहतस्वरुप रु एक लाख प्रदान गर्ने निर्णय गरेको छ ।
साथै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत सरकारले मुलुकभर निःशुल्क वितरण गर्दै आएको ४० प्रकारका औषधिको सङ्ख्यालाई बढाएर ७० पुर्याएको छ ।

त्यस्तै सरकारले हालै मलेसियामा सम्पन्न एसिसी यु–१६ प्रिमियर लिग क्रिकेटमा विजेता बनेको नेपालका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी १७ जनालाई पुरस्कारस्वरुप रु नौ लाख दिने निर्णय गरेको मन्त्री डा रिजालले बताउनुभयो ।

सरकारले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका सदस्यमा सुनितासिंह ठकुरी, विजयकुमार सिंह दनुवार, फुर्वा तामाङ र नागेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने तथा प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारका रुपमा अवैतनिक रहने गरी मृदुला कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यसैगरी ऋण असुली पुनरावेदन न्यायाधीकरणमा पुनरावेदन सुन्ने अधिकारीका रुपमा महेशकुमार थापालाई नियुक्त गरिएको छ ।

त्यस्तै एसियाली विकास बैंकलाई जलविद्युत् क्षेत्रमा गर्ने लगानीमा रु ५० अर्बसम्मको ऋण जारी गर्न स्वीकृत दिइएको छ ।

सम्बन्धित शिर्षकहरु