विगतमा गरिएका सहमति र प्रतिबद्धतामा बाधा पुगेको भन्दै सभासदहरुको आपत्ति

भदौ ७ ।काठमाडौँ,एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विगतमा गरिएका सहमति र प्रतिबद्धतामा कहीँ न कहीँ बाधा हालिएको भन्दै संविधानसभाभित्र रहेका र बाहिर रहेका सबै पक्षलाई संविधान निर्माण प्रक्रियाबाट बाहिर पार्ने खेल सुरु भएको आरोप लगाउनु भएको छ ।

उहाँले भन्नुभयो,”पछिल्ला दिनमा सरकारमा रहेका दलहरुको गतिविधि आगामी माघ ८ गतेभित्र संविधान जारी गर्नेभन्दा पनि नगर्नेतिर बढी केन्द्रित हुँदै गएको देखिन्छ । यसलाई रोक्न पनि सबै तह र तप्काको बीचमा एकताको आवश्यकता छ ।”

संविधान सहमतिको दस्तावेज हुने भएकाले काँग्रेस र एमाले लचक भएर आए एमाओवादी र मोर्चाका तर्फबाट थप लचकता अपनाउन सकिने उहाँको भनाइ थियो ।
सङ्घीय गणतान्त्रिक मोर्चा संविधान लेखन प्रक्रियालाई सहज बनाउनका लागि निर्माण गरिएको उहाँले स्पष्ट पार्नु भयो ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधान निर्माण प्रक्रियालाई गति दिनेभन्दा पनि त्यसमा बाधा व्यवधान खडा गर्न सत्ताधारी दल उद्यत् रहेको भन्दै आपत्ति प्रकट गर्नुभयो ।
स्थानीय निकायको निर्वाचनको विषय संविधान बन्न नदिने प्रपञ्चका साथ आएको भन्दै उहाँले संविधान घोषणाभन्दा पहिले निर्वाचनको कुरा गरिए त्यसको प्रतिकार गरिने चेतावनी दिनुभयो ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले परिवर्तनकारी शक्तिलाई आन्तरिक र बाह्य रुपमा तहसनहस पारेर २०४७ सालकै संविधान जारी गर्ने प्रपञ्च जारी रहेको आरोप लगाउनुभयो ।
कार्यक्रममा सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई, तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठी, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले संविधान निर्माणमा सबै वर्ग तथा तह तप्कालाई सहभागी नगराइकन एकलौटी रुपमा ठूला दलले मात्रै आफ्नो स्वार्थ लाद्न खोजिए त्यसले मुलुकलाई निकास नदिने धारणा राख्नुभएको थियो ।

उनिहरु सबैले व्यवस्थापिका-संसद्को प्रतिपक्षमा रहेका एकीकृत नेकपा माओवादी लगायतका सात राजनीति दलले १२ बुँदे सम्झौता, अन्तरिम संविधान र विभिन्न समयमा भएका सहमतिका आधारमा संविधान लेखन प्रक्रिया अगाडि बढाउनुपर्ने सुझाव दिएका छन् ।

सम्बन्धित शिर्षकहरु