रामनाथ खनाल।साउन २९ ।काठमाडौँ, नेकपा (एमाले) केन्द्रीय कमिटीको दोस्रो बैठक शुक्रबार दिउसो १ बजे सम्मका लागि स्थगित भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा जारी तेस्रो दिनको बैठकमा २८ जना केन्द्रीय सदस्यहरुले राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव तथा बैठक सञ्चालन कार्यविधि तथा आचारसंहिता सम्बन्धमा प्रस्तुत भएका दस्ताबेजहरूमाथि छलफलमा भाग लिंदै सुझावहरू प्रस्तुत गरेको बताइएको छ ।
त्यस्तै बैठकले अविरल बर्षाका कारण कमला नदीको तटबन्ध भत्किई सिराहा जिल्लाका सारसर, भरबण्डा, रमौला, कटकरवा, बेरिया, इटारी लगायत १२ वटा गाविस तथा सदरमुकाम सिराहा बजार जलमग्न भएको र हजारौं जनताको जीवन जोखिममा परेकामा गहिरो चिन्ता व्यक्त गरेको छ । त्यस्तै राहतका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ । त्यस्तै अविरल बर्षाका कारण गएको पहिरोमा परी जाजरकोट जिल्लाको सक्ला गाविस वडा नं. ३ मा २ जना तथा रामिडाँडा गाविस ९ का २ जनाको ज्यान गएको, ९ जना सख्त घाइते भएको र पहिरोले विभिन्न बस्तीहरू अति जोखिममा परेकोप्रति दुःख व्यक्त गर्दै राहत, पुनस्र्थापना र उद्धारका लागि सरकारसँग माग गरेको छ ।
यसैगरी सिन्धुली जिल्लाको हत्पतेमा कमला नदीले बगाउँदा १ जनाको ज्यान गएको, कल्पवृक्ष साहन, डकाहा लगायतमा विभिन्न बस्तीहरू डुबानमा परेका तथा अछाम जिल्लाका विभिन्न ११ गाविसहरू बाढीपहिरोले गम्भीर रूपमा प्रभावित भएको प्रति पनि गम्भीर चिन्ता जाहेर गर्दै राहतका लागि सरकारको ध्यानाकर्षण गराएको छ । बैठकमा पार्टी उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री कमरेड वामदेव गौतमले सरकार उपरोक्त प्राकृतिक विपत्तिप्रति गंभीर रहेको, ती लगायत महोत्तरीको रातु नदीका आएको कारण पुल भत्किन गई पूर्व–पश्चिम राजमार्गमा आवतजावतमा उत्पन्न भएको चुनौतीलाई समाधान गर्न गम्भीरतासाथ लागिरहेको जानकारी गराउनु भएको थियो । यसैबीच बैठकले प्रवासी नेपाली सङ्घ (भारत) का केन्द्रीय अध्यक्ष लोकनाथ भण्डारीकी आमा टोपला भण्डारीको ८४ बर्षको उमेरमा भएको निधनमा गहिरो दुःख व्यक्त गर्दै कमरेड लोकनाथ लगायत शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।








