थप बम विस्फोटबाट सुनकोशीको बहाव बढ्यो

साउन २० ।काठमाडौँ,नेपाली सेनाको थप बम विस्फोट पछि सिन्धुपाल्चोकको मांखा गाविस स्थित जुरेमा गएको पहिरोले अवरुद्ध सुनकोसीको बहाव बढेको छ ।

यही साउन १७ गते सुक्रबार गएको पहिराको कारण थुनिएको नदीमा नेपाली सेनाले आज पनि विष्फोटन गरी निकासलाई केही ठूलो बनाएको हो ।
आज उक्त नदीको पानीको भित्री बहाव १७० क्युसेक रहेको र बाहिरी बहाव १८० क्युसेक रहेको छ । आजसम्म उक्त कृतिम तालको पानीको सतह करिब ४० सेमी घटेको छ ।
उक्त तालको रुपमा रहेको पानीलाई क्रमिकरुपमा नियमित बहावमा परिणत गर्ने कार्यका लागि आवश्यक पर्ने स्रोत, साधन र जनशक्तिलाई परिचालन गरी उक्त पानीलाई सक्दो चाँडो गहिरो र फराकिलो निकास गराई अवरुद्ध कोदारी राजमार्गलाई समेत जतिसक्दो चाँडो सुचारु गर्ने योजनाअनुसार आजदेखि नेपाली सेनाले उक्त स्थानमा एयर कम्पेसर मेसिन र ड्रिल मेसिन पठाई आवश्यक कार्य भइरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उद्धार कार्यको अनुगमनका लागि आज उक्त स्थानमा बलाधीकृत रथी पवनबहादुर पाण्डे जानु भई स्थितिको जानकारी लिनुका साथै आवश्यक निर्देशनसमेत दिनुभएको थियो ।

यसैगरी, बेलायती राजदूतावासको सुरक्षा शाखाले बेलायती सरकारका तर्फबाट नेपाली सेनालाई प्रदान गरिएको खोज तथा उद्धारसम्बन्धी विभिन्न उपकरण आज नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।

रु ९७ लाख २० हजार मूल्य बराबरको खोज तथा उद्धारसम्बन्धी विभिन्न उपकरण सहयोगस्वरुप हस्तान्तरण गरिएको हो ।

 

सम्बन्धित शिर्षकहरु