फुङलिङ आगलागीबाट विस्थापितलाई तत्काल क्षतिपूर्ति दिन आग्रह

चैत ११ । काठमाडौँ,व्यवस्थापिका-संसद्, कृषि तथा जलस्रोत समितिले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारको तोक्मेडाँडामा भएको आगलागीमा परी विस्थापित हुनेहरुलाई क्षतिपुर्तिको व्यवस्था मिलाउन आग्रह गरेको छ । समितिको मंगलबार बसेको बैठकले क्षतिपूर्तिको व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेको हो । सोमबार भएको आगलागीका कारण ४२ घर क्षतिग्रस्त हुनाका साथै करोडौँको धनमाल नष्ट भएको छ ।

बैठकले ऊर्जा मन्त्रालयअन्तर्गत विभिन्न जलविद्युत् आयोजना समय र लागत बढाउनेमा मात्रै केन्द्रित रहेको भन्दै स्थलगत अध्ययन गर्ने निर्णय गरेकोे छ । पछिल्लो दिनमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत मजदुरले सेयरको माग गर्दै आन्दोलन गरेको र सेयर वितरणमा समस्या देखिएको भन्दै तत्काल समाधान गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।

यस्तै ९५ प्रतिशत काम सम्पन्न भए पनि समस्यामा परेको चमेलिया जलविद्युत् आयोजनाको काम शीघ्र सम्पन्न गर्न समितिले मन्त्रालयलाई सचेत गराएको सभापति गगनकुमार थापाले बताउनुभयो ।
समितिले सिक्टा, रानीजमरा कुलरिया र बबई सिँचाइ आयोजनाको प्रगति सन्तोषजनक नदेखिएकोले तिनको अनुगमन गरी समस्या समाधानका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ ।

सम्बन्धित शिर्षकहरु