पवित्रा सुनार ।मंसिर १८, काठमडौं, गत चैतमा बाँके, लक्ष्मणपुर–८ की रिहाना शेख ढपालीलाई पतिले जिउँदै आगो लगाएको एक वर्ष बित्न लाग्यो। उनलाई आफ्नै परिवारले गत चैत ३ मा मट्टितेल छर्केर जलाएको थियो। उनलाई आगो लगाउने पति र परिवारका सदस्य अहिलेसम्म फरार छन्। उनलाई भैंसी र मोटरसाइकल दाइजो नपाएको निहुँमा जलाइएको थियो।
घटनाको वर्षदिन बित्न लाग्दा पनि दोषीलाई कारबाही नहुँदा दुःख लागेको रिहानाले बताएकी छन्। ‘जबसम्म कारबाही हुँदैन, तबसम्म मेरो मनको घाउ निको हुँदैन,’ रिहानाले नागरिकसँग भनिन्। स्थानीय नेताको संरक्षणका कारण दोषीमाथि कारबाही हुन नसकेको पिता समिमको गुनासो छ। उनका अनुसार घटना योजनामा संलग्न रिहानाका जेठाजु घरमै छन्। उसलाई पक्रेर सोधपुछ गरे अन्य सदस्य स्वतः पत्ता लाग्छन्।
चाबहिलकी सुशीला जोशीको घर त्यतिखेर भत्कियो जब सम्पत्तिको लोभले आफ्नै जेठाजु र परिवारले षड्यन्त्र रचे। उनी र पतिले दुःख गरेर कमाएको घरजग्गा हडप्ने योजनामा उनलाई पति विदेश गएका बेला अर्को पुरुषसँग सल्केको आरोप लगाइयो। कृत्रिम पुरुषको कोठामा सुशीलाको लुगा राखिदिए। ती पुरुषलाई बच्चाहरुलाई ‘ममीको केटा साथी’ भन्न सिकाइयो।
पति विदेशबाट सात वर्षमा देश फर्केपछि घरझगडा सुरु भयो। सुशीलामाथि हिंसा सुरु भयो। पतिले कुटपिटदेखि घर छाड्न दबाब दिन थाले। उनले न्यायको ढोका घच्घचाइन्। काठमाडौं जिल्ला अदालतले पति र सुशीलाको नाममा सम्पत्ति आधा हुने गरी फैसला सुनायो।
पुनः परिवारले सम्पत्तिमा छोराको हक लाग्ने भनी पुनरावेदन अदालतमा मुद्दा हाल्यो। पाँच वर्षदेखिको मुद्दा अझै टुंगो लागेको छैन।
रक्सी सेवन गर्ने पति सुधार केन्द्रमा छन्। सुशीला मुद्दा खेपेको खेप्यै छिन्। उनलाई जेठो छोरा भेट्नसमेत दिइएको छैन। ‘स्कुल पुर्यााउँछन्, सिधा घरमा पुर्या उँछन्, छोरा सुस्त भइसक्यो,’ उनले भनिन्।
यी प्रतिनिधि पात्र जस्तै नेपालमा कुनै न कुनै हिंसाको सिकार महिला धेरै छन्। आ.व. २०७०/०७१ मात्र ८ हजार ८ सय ३५ जना छन्। यीमध्ये घरेलु हिंसा सबैभन्दा बढी छ। यो आ.व.मा घरेलु हिंसा मात्र ६ हजार ८ सय ३५ छ। अन्य हिंसाको तुलनामा यो संख्या अत्यन्त धेरै हो। घरेलु हिंसापछि बढी बलात्कारका घटना धेरै छ। यो वर्ष ९ सय १२ जना बलात्कार भएका छन्। जसमा चेलिबेटी बेचबिखनमा १ सय ८५ जना छन्।पछिल्लो वर्ष विगत पाँच वर्षको भन्दा तीन गुणा बढी उजुरी परेको तथ्यांक छ। पाँच वर्षअघि अर्थात आ.व.२०६६/०६७ मा घरेलु हिंसाका उजुरी ९ सय ८३ थियो। राष्ट्रिय महिला आयोगमा मात्र यो आर्थिक वर्षमा ५ सय ५६ उजुरी परेकामा ३ सय वटा घरेलु हिंसाका छन्। आयोग प्रवक्ता मनु हुमागाईंका अनुसार सबैभन्दा घरेलु हिंसाले महिला आक्रान्त छन्। रक्सी पिएर कुटपिट गर्ने, अर्की श्रीमती बिहे गर्ने र परिवारमा खर्च नदिने, कुटपिटबाट अंगभंग गराइदिने जस्ता हिंसा हुने गरेका छन्।
महिलामाथि हिंसा भए पनि पीडितको पहुँचमा न्याय हुन नसकेको आयोगकी प्रवक्ता मनु हुमागाईं स्विकार्छिन्। ‘हिंसा पीडितलाई तुरुन्तै राहत चाहिएको हुन्छ, तर प्रक्रियामा प्रशस्त ढिलाइ छन्। कारबाही गर्ने निकायले घरेलु हिंसालाई अहिले पनि गम्भीर रुपमा नलिने प्रवृत्ति छ,’ उनले भनिन्, ‘कारबाही गर्ने निकायले यस्ता मुद्दा लिएर जाँदा घरझगडा, महिला रुने कराउने भनी हल्का रुपमा लिने गरेको पाइन्छ।’
महिला हिंसाविरोधी अभियान चले पनि हिंसा नघटेको र पीडितले पूर्ण न्याय पाउन नसकेको राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी बताउँछिन्। ‘उजुरी दिने चलन भने बढेको छ, महिला सचेत हुँदै गएका पनि छन्,’ उनले भनिन्। हिंसाको यो स्वरुपअनुसार पीडितले न्याय पाउन नसकेको अवस्था कायम रहेको अन्सारीले बताइन्। उनका अनुसार सामाजिक, आर्थिक र कानुनी सोचको पूर्ण सहयोग नपुग्नाले पीडित महिला हिंसाबाट बाहिर निस्कन सकेका छैनन्। महिला आर्थिक परनिर्भर भएकाले हिंसाविरुद्ध सक्रिय रुपमा लड्न सकेका छैनन्। ‘उजुरी हालेपछि समाजले पनि सहयोग गर्दैन, हिंसा गर्नेले आत्मालोचना गरेको अवस्था पनि छैन,’ उनले भनिन्। ‘प्रहरीमा मिलापत्र गरेर फर्केकी महिलालाई घर पुगेपछि घरपरिवार र समाज दुवैले उजुरी गर्ने भनी उल्टो पीडा दिन थाल्छ,’ उनले भनिन्।
घरेलु हिंसा तथा अन्य हिंसालाई फौजदारी अभियोग अन्तर्गत कारबाही गर्ने व्यवस्था अहिलेसम्म कानुनमा नहुनाले पनि दोषीमाथि प्रभावकारी कारबाही हुन नसकेको उनको भनाइ छ। गत असोजमा घरेलु हिंसालाई फौजदारी मुद्दामा राखिने कानुनी प्रस्ताव पेस भएको छ।
प्रहरी प्रशासनले पनि महिला हिंसालाई गम्भीर रुपमा नलिने गरेको अन्सारी बताउँछिन्। ‘नीतिगत तहमा हुने छलफलमा प्रहरी सकारात्मक रुपमा प्रस्तुत भए पनि व्यहारमा जान सकेको देखिँंदैन,’ उनले भनिन्। नेपालमा महिला हिंसाविरोधी अन्तर्राष्ट्रिय अभियान चलेको पाँच वर्ष भएको छ भने महिला आन्दोलन चलेको आधा शताब्दी पुगिसकेको छ । साभार:नागरिक दैनिकबाट ।








