काठमाडौ, १८ साउन । मोदीले धर्मपुत्रका रुपमा पालण पोषण गर्नु भएका जीतबहादुर सारुमगरले वर्षौँपछि नेपालमा रहेका आफ्ना बुबाआमा र परिवारलाई भेट्नु भएको छ । नेपाल भ्रमणमा आज आउनु भएका मोदीले नेपाल आउनेबित्तिकै आफूले लामो समयदेखि पालेका जीतबहादुरलाई परिवारसँग भेट गराउनु भयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बौद्धस्थित हायात रिजेन्सी होटलमा त्याहाँ सबैभन्दा पहिलो काम नै परिवारको पुनर्मिलन गराएर मोदीले सामुहिक फोटो खिचाएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता सइद अकबरुद्दिनले बताउनु भयो ।
मोदीले पनि जीतबहादुरलाई परिवारको जिम्मा लगाएलगत्तै ट्वीट गरेर जीतबहादुरको परिवारसँग पुनर्मिलन गराउन पाउँदा खुसी लागेको बताउनु भयो । मोदीले जीतवहादुरको परिवारसँग भेट्न चाहेकाले काठमाडौंस्थित दूतावासले जीतवहादुरकी आमा खगिसरा, दाइ दशरथ, जीतवहादुरकी बहिनी प्रेमकुमारी र उनकी भाउजूलाई काठमाडौं ल्याइएको थियो । भारतीय दूतावासकै खर्चमा उनीहरु शनिबार काठमाडौं आएको स्रोतले जनाएको छ ।
हायात होटलमा पुग्नेवित्तिकै मोदी जीतवहादुरका परिवारलाई भेट्न आतुर भएका थिए ।
जीतबहादुर अहिले २७ वर्षका हुनु भयो । उहा १६ वर्षअघि आफ्ना दाइ दशरथसँग नवलपरासीस्थित आफ्नो घर छोडेर मजदूरीका लागि भारत पुग्नु भएको थियो । दाइ दशरथजस्तै जीतबहादुर पनि दिल्लीमा घरेलु कामदारका रुपमा काम गर्न थालेपनि काम गर्न नसकेपछि जितबहादुर राजस्थान भाग्नु भएको थियो ।
राजस्थानमा पनि गतिलो काम नपाएपछि जीतभहादुर त्यहाँबाट पनि भाग्नु भएको थियो ।
घर जानुपर्ला भनेर उहा गोरखपुरको रेल चढे तर उहा झुक्किएर अहमदावादको रेल पो चढ्नु भएको थियो । अहमदावादमा मोदीसँग भेटेपछि जितबहादुरको जीवन बदलिएको हो।
अहिले मोदीको परिवारको एक हिस्सा बन्नु भएका जितबहादुरले अहमदावादको लक्ष्मण ज्ञानपीठबाट स्कुल तहको अध्ययन सकेर त्यहाँकै राइ विश्वविद्यालयमा स्नातक अध्ययन गरिरहनु भएको छ । मोदी प्रधानमन्त्री बनेर नयाँ दिल्ली सरेपछि जीतबहादुर होस्टलमा बसेर अध्ययन गर्दै आउनु भएको छ ।








