भारतसँग ऊर्जा व्यापार सम्झौता नगरेकोमा संसदीय समितिको आपत्ति

साउन ११ ।काठमाडौँ, व्यवस्थापिका-संसद्को कृषि तथा जलस्रोत समितिले ‘नेपाल-भारत ऊर्जा व्यापार सम्झौताको विषयलाई तत्काल सम्झौता सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।

विदेश मन्त्रिस्तरीय वार्तामा ऊर्जा व्यापार पर सारिएकोमा गम्भीर ध्यानाकर्षण गर्दै समितिले तत्काल सम्झौता सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिको आज बसेको बैठकले देशको आवश्यकता र स्वार्थलाई ध्यानमा राख्दै विद्युत् व्यापारमा हुने सर्वमान्य सिद्धान्त र नीतिका आधारमा नेपालको सर्वोपरी राष्ट्रिय हित सुनिश्चित हुने गरी भारतलगायत अन्य छिमेकी देशसँग तत्काल ऊर्जा व्यापार सम्झौता सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिको निर्णयमा भनिएको छ, “जलविद्युत्मा आधारित ऊर्जा विकास नभई नेपालको आर्थिक विकासको लक्ष्य पूरा गर्न गाह्रो हुने र यसका लागि ठूलो मात्रामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नुपर्ने हुन्छ ।”

ऊर्जा विकास सम्झौता नभई ऊर्जा क्षेत्रमा लगानी अनिश्चित हुन्छ भने ऊर्जा विकास सम्झौता सुनिश्चित गर्न भारतसँग ऊर्जा व्यापार सम्झौता गर्नु जरूरी हुन्छ ।

समितिको निर्णयमा ‘भारतसँग’ सट्टा ‘अन्य मुलुक’सँगको सम्झौता उल्लेख गर्नुपर्ने जनाउँदै नेपाल मजदुर किसान पार्टीका सभासद् डिल्लीराज काफ्लेले फरक मत दर्ता गर्नुभयो ।

समितिको निर्णय सुनाउँदै अध्यक्षता गरिरहनुभएका सभासद् अमृतकुमार बोहराले भारतलगायत अन्य मुलुकसँग पनि यसप्रकारको सम्झौता गर्न र लगानी आकर्षित गर्न आवश्यक भएको र यसमा परिपक्व गृहकार्य तथा सरकार र समितिबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा ऊर्जामन्त्री राधा ज्ञवालीले नेपालको हितमा ऊर्जा व्यापार सम्झौता होस् भन्ने आफ्नो मन्त्रालयको चाहना रहेको बताउँदै हाललाई तीन दलको छलफलले स्थगन गरे पनि त्यसलाई टुङ्गोमा पु¥याउन आफूहरु प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो ।

उहाँले यो सम्झौता पर सर्नु वा बाहिर अनावश्यक चर्चा हुनुमा मन्त्रालयको कुनै त्रुटि नरहेको दाबी गर्दै विकासको पहिलो ढोका ऊर्जा विकास भएकाले त्यसका लागि भारतसँग सम्झौता आवश्यक रहेको बताउनुभयो ।
मन्त्री ज्ञवालीले भन्नुभयो, “राष्ट्रको हित हुने कुरामा मन्त्रालय पछि हट्दैन । ऊर्जा विकास नेपालको हितमा छ ।”
मन्त्री ज्ञवालीले लगानी बोर्ड र ऊर्जा मन्त्रालयबीच उचित समन्वय हुन नसकेकामा चिन्ता पनि व्यक्त गर्दै उहाँले बोर्डको बैठकमा आफूलाई आमन्त्रित सदस्यमात्रै राखिएको विषयमा सभासद्को ध्यानाकर्षण गराउनुभयो ।

सम्बन्धित शिर्षकहरु