साउन ९ । इलाम,लुटपाटमा संलग्न पाँच लुटेरालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चुलाचुली-८ का २६ वर्षीय अशोक राई, २२ वर्षीय सुरेस जवेगु, २३ वर्षीय हरि राई, २१ वर्षीय लामा राई र २० वर्षीय विक्रम राई रहेका छन् ।
एक हप्ताअघि झापाको दमक नगरपालिका-१ बाट ल्यापटप र नगद लुटेर फरार चुलाचुली-८ का ती लुटेरालाई चुलाचुलीस्थित पेल्टिमारी प्रहरी चौकीले बिहीबार पक्राउ गरेको हो ।
दमक नगरपालिका-१ निवासी स्वर्णहाङ सुरुम्वा र सञ्जय लिम्बूको दुई थान ल्यापटप र रु ६० हजार लुटेर उनिहरु फरार रहेका थिए ।
विशेष सुराकीका आधारमा प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक केदारबहादुर कार्कीको नेतृत्वमा खटिएको गस्ती टोलीले चुलाचुली-८ स्थित बुकुवा सामुदायिक वनमा लुकीछिपी बसेको अवस्थामा दुई थान ल्यापटपसहित पक्रेको हो ।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय दमकमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कवीन्द्रकुमार कार्कीले बताउनुभयो ।








