काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलालीमा आन्दोलनका नाममा आतङ्कवादीले सुरक्षाकर्मीको ज्यान लिने घटनाको घोर निन्दा गर्दै सरकारले तत्काल आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।
प्रेस चौतारी नेपालद्वारा सोमबार आयोजना गरेको अन्तर संवाद कार्यक्रममा उनले जनताको शान्तिसुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथिको ज्यादती निन्दनीय भएको भन्दै सरकारले आवश्यक कारबाही तत्काल गर्न माग गरे।
अध्यक्ष ओलीले भने “शान्तिसुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि आतङ्कवादीले ज्यान लिएका छन्, यो अत्यन्तै राजनीतिका नाममा कसैले पनि अपराधीलाई त्यतिकै छाड्न हुँदैन ।”
संविधान जारी गर्ने अन्तिम बिन्दुमा आइसकेको अवस्थामा यस्ता खालका घटनाले संविधान बन्न नदिने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उनले कैलालीमा सुरक्षाकर्मीको ज्यान लिने थारू समुदाय नभएर आतङ्ककारी क्रियाकलापमा संलग्न व्यक्ति भएको बताए ।
अध्यक्ष ओलीले आफ्ना मागहरु सुरक्षित तरिकाले राख्न र त्यस्ता अपराधी तत्वलाई जनताले समातेर प्रहरीलाई बुझाउन आग्रह गरे ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनालले कैलाली घटनाप्रति दुःख व्यक्त गर्दै हिंसाका रुपमा प्रस्तुत हुनु जघन्य अपराध भएकाले राज्यले यसलाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए।
उनले संविधान बन्न नदिने आतङ्कवादी तत्वले यस्ता मानवता विरोधी क्रियाकलाप गरेको भन्दै यस्ता अपराधी गतिविधिलाई राज्यले तत्काल नियन्त्रणमा लिनुपर्ने बताए ।
चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले संविधान निर्माणका अन्तिम चरणमा पुगेको अवस्थामा सुरक्षा निकायमाथि ज्यान लिने गरी भएको घटना निन्दनीय भएको बताए ।







