असार ३२ ।गौशाला,विवाह गर्ने भन्दै युवतीलाई झुक्याएर भारतमा बेच्न लैजान लागेका दुई युवतीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल भन्सार तथा राजस्व गस्ती गुल्म भिट्ठामोडले उनिहरुलाई भिट्ठामोडबाट मङ्गलबार पक्राउ गरेको हो ।
भारतको विहार राज्यअन्तर्गत मधुवनी ग्राम पञ्चायत-२६ घरभई हाल जनकपुर नगरपालिका-४ बस्ने २१ वर्षीय अभिनन्दन ठाकुर, शनि ठाकुर माईस्थान–७ बस्ने १८ वर्षीया निसाकुमारी खपाँगी र मुस्कान लुँगेलीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारैजनालाई प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको छ ।
खपाँगी र लुँगेलीलाई विवाह गर्छु भनेर प्रलोभन देखाई ठाकुरसहित चारजना युवाले भारतको मुम्बईमा बेच्न लगिरहेको प्रहरीसमक्ष उनीहरुले बयान दिएका छन् ।
घटनामा संलग्न अन्य दुई युवक फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खपाँगी र लुँगेलीलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ भने ठाकुरद्वयमाथि मानव बेचबिखन तथा मानव ओसारपसार मुद्दा चलाइएको प्रहरी निरीक्षक इकवाल हवाडीले बताउनुभयो ।








