बङ्गलादेशको सबैभन्दा पुरानो वेश्यालय बन्द

ढाका,बङ्गलादेशमा स्थानीय धर्मगुरु तथा राजनीतिज्ञहरूको दबाब तथा मुसलमान बहुसङ्ख्यक भएको यस मुलुकमा परम्परावादीको विस्तार हुँदै गरेको अवस्थामा मुलुकको सबैभन्दा पुरानो वेश्यालय बन्द भएको छ ।

प्रहरीले सोमबार दिएको जानकारी अनुसार ताङ्गाइल नगरमा करिब २०० वर्षदेखि चलिरहेको कान्दापारा वेश्यालयका ७५० वेश्यालाई यहाँ बनेका घरहरूको समूहबाट बाहिर जान आइतबार बाध्य बनाइएको हो ।

यी घरहरूका मालिकहरूले नै यी घर बन्द गर्न आदेश दिएका हुन् ।

मुसलमान धर्मगुरु तथा नागरिक कार्यकर्ताहरूले गत साता यहाँबाट यौनकर्मीहरूलाई हटाउन माग गरेपछि यहाँका घरमालिकहरूले यस्तो निर्णय गरेको जानकारी जिल्ला प्रहरी प्रमुख सलेह मोहम्मद तनवीरले दिए ।

आइतबार वेश्यालयका घर मालिकले सबै यौनकर्मीलाई यहाँबाट जान आदेश दिएको सूचना जारी गरेको तनवीरले बताए । यी यौनकर्मीले यस निर्णयको कुनै विरोध नगरेको पनि उनले उल्लेख गरे ।

परम्परावादीहरूको विरोधबाट इस्लामी तथा अन्य कार्यकर्ताहरूको मनोबल बढेको छ र उनीहरूले हालका वर्षमा मुलुकका विभिन्न भागमा करिब एक दर्जन वेश्यालय बन्द गराइदिएका छन् ।

यस्ता वेश्यालयमा राजधानी ढाकामा अवस्थित सबैभन्दा ठूलो वेश्यालय तनबजार पनि परेको छ ।

बङ्गलादेशमा वेश्यावृत्ति गैरकानुनी मानिन्छ तर सरकारले यी वेश्यालयल मुलुकमा सञ्चालन भएको कुरालाई हालसम्म ध्यान दिएको थिएन ।

कान्दापारामा यौनकर्मीहरूको नेतृत्व गर्ने मोनोवारा बेगमले सत्ताधारी दलका नेता स्थानीय नगर प्रमुखले यी वेश्यालय बन्द गर्न आदेश दिएको र महिलालाई हिंसा हुने चेतावनी दिएको बताइन् ।

उनले मेयरले दर्जनौँ युवकलाई वेश्यालय पठाएको, उनीहरूको हातमा लट्ठी भएको र उनीहरूले यौनकर्मीले आफ्नो निवास एक घण्टामा खाली नगरे त्यसलाई जलाइदिने चेतावनी दिएको बताइन् । उनले त्यसपछि घरमालिकहरूले आफ्नो घर भत्काउन थालेको पनि उल्लेख गरिन् ।

उनले उक्त वेश्यालयमा रहेका ७७३ बालिका त्रासमा रहेको र उनीहरूले उक्त स्थान छोड्दा सातवटा ट्रकमा राखिएको उनीहरूको टेलिभिजन, फ्रिज तथा फर्निचर स्थानीय व्यक्तिहरूले लुटिदिएको बताइन् ।

यहाँको नगरप्रमुखलाई सम्पर्क गर्न खोज्दा उनी फेला पर्न सकेका छैनन् ।

बेलायती लोककल्याणकारी संस्था एक्सनएडको बङ्गलादेश शाखाले स्थानीय यौनकर्मीहरूको अधिकारका विषयमा काम गरिरहेको छ ।

यस संस्थाले कान्दापारा वेश्यालय गत २०० वर्षदेखि सञ्चालनमा आएको र बेलायती शासनकालमा स्थापना भएको जानकारी दिएको छ । एएफपी

सम्बन्धित शिर्षकहरु