असनेपाल न्युज सम्बाददाता
असार २७, काठमाडौँ- काठमाडौँमा जारी नेकपा एमालेको नवौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । बिहान आठ बजेदेखि सुरु गर्ने भनिएको भएपनि साढे दस घन्टा ढिलो गरि अपरान्ह साढे पाँच बजे बल्ल मतदान सुरु भएको हो।

आवस्यक मतपत्र छपाइमा र नयाँ परिचय पत्र बितरणमा ढिलाई भएकोले मतदान तोकिएको समयमा सुरु हुन् नसकेको बताइएको भएता पनि मतदानको समय ६ पटक परिवर्तन गरिएको थियो। प्राबिधिक कारणले गर्दा मतदान प्रक्रिया ढिलो हुन पुगेको पार्टीको निर्वाचन आयोगले जानकारी दिएको छ ।
मतदानका लागि भन्दै मतदाताहरु बिहानै देखि लाइनमा बसेका थिए । मतदानस्थल भृकुटीमण्डप वरीपरी नेपाल र ओली पक्षका कार्यकर्ताको ठूलो भीड लागेको छ । एमालेमा अध्यक्ष सहित १४ पदाधिकारी गरी १ सय ५८ केन्द्रीय सदस्य चयनका लागि आज निर्वाचन हुन लागेको हो ।
चुनाबमा पार्टीका बरिष्ठ नेता माधव नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले औपचारिक रुपमा प्यानल नै घोषणा गरेर प्रतिस्पर्धामा उत्रेका छन् । मतपत्रमै दुईवटा प्यानलका उम्मेदवारहरुको सूची प्रस्तुत गरिएको छ। मतदानका लागि पदाधिकारी र अन्य गरी दुई बटा मत पेटिका राखिएको छ । पदाधिकारी, खुला, समावेशी र बैकल्पिक केन्द्रीय सदस्य, अनुशासन अयोग र लेखा गरी ६ बटा मत पत्रमा मतदान गर्नु पर्नेछ । २ हजार १७६ प्रतिनिधिले मतदान गर्नेछन् ।








