असार २६, काठमाडौँ- सर्लाही जिल्लाको सदरमुकाम मलगंवास्थित जिल्ला अस्पतालमा एक महिलाले एकैपटक चार जना बच्चालाई जन्म दिएकी छिन् । प्रसुति व्यथाले च्यापेपछि अस्पताल ल्याइएकी कौडेना–७ माइती भएकी रविना खातुनले एकैपटक चार बच्चा जन्माएकी हुन्।
खातुनले जन्माएक बच्चामध्य दुई छोरा र दुई छोरी छन् । उनले बुधबार राति ७ बजेर २० मिनेटमा चार बच्चालाई एकसाथ जन्म दिएको जिल्ला अस्पतालका चिकित्सक प्रह्लाद अधिकारीले बताए।
चिकित्सक अधिकारीका अनुसार रविनाले ६ महिनामा नै चार बच्चा जन्माएकी हुन्। ‘छ महिनामा जन्मिएका हुनाले बच्चाको अवस्था पूर्णरुपमा विकसित थिएन, जन्मदा सबै सकुशल थिए,’ डा. अधिकारीले भने।
तीन बच्चाको गए राति नै मृत्यु भएको छ। सुरुमा जन्मिएकी एक छोरी भने जीवितै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आमाको स्वास्थ्य अवस्था भने सामान्य छ।








