एमालेको विधान संशोधनको प्रस्तावमाथि छलफल जारी

असार २२ । काठमाडौ, नेकपा एमालेको काठमाडौंमा जारी नवौं महाधिवेशनमा विधान संशोधनको प्रस्तावमाथि छलफल भइरहेको छ।

चारदिनदेखि जारी महाधिबेसनमा संगठन विभागका प्रमुख युवराज ज्ञवालीले पदाधिकारीको संख्या थप गर्ने व्यवस्थासहित पेश गर्नुभएको विधान संशोधनको प्रतिवेदनमाथि आज समूहगत रुपमा छलफल हुनेछ ।

विद्यमान दुई उपाध्यक्ष पदलाई वरिष्ठ एकसहित बढाएर पाँच, तीन सचिवलाई बढाएर पाँच बनाउने र दुई उपमहासचिव थप गर्ने प्रस्ताव गरिएको छ । यस्तै केन्द्रीय कमिटी एक सय ४९ सदस्यीय हुने प्रस्ताव गरिएको छ । साधारण र संगठित सदस्यतालाई हटाएर एकै प्रकारको पार्टी सदस्यताको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ । आजको बन्दसत्रमा लेखा समिति, निर्वाचन समितिको प्रतिवेदन पनि छलफलका लागि प्रस्तुत गरेर समूह विभाजन गरिने छ । समूहगत छलफल गरेर निष्कर्ष निकालिने नेता सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो । त्यस्तै, अध्यक्ष झलनाथ खनालले पेश गरेको राजनीतिक प्रतिवेदन पनि आजै पारित गर्ने तयारी छ । स्थायी समिति सदस्य भरतमोहन अधिकारीले भने राजनीतिक र सांगठनिक प्रतिवेदनमा असहमति जनाउँदै लिखित फरक मत राख्नु भएको छ । १३ पेज लामो अधिकारीको फरक मतमा राजनीतिक, संगठनात्मक धेरै विषयमा आफ्नो सुझाब रहेको बताउनुभएको छ । छलफलका लागि २० देखि २२ वटासम्म समूह बनाइने प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । अध्यक्षका प्रत्यासीद्वय नेपाल र ओलीबीच मनोनित प्रतिनिधिका विषयमा विवाद बढेपछि मनोयन नगरी बन्दसत्रमा जाने सहमति भएको बताइएको छ । अध्यक्षका प्रत्यासीद्वय नेता माधवकुमार नेपाल र केपी ओली पक्षका बीचमा विवाद भएपछि महाधिवेशन प्रतिनिधि मनोयन प्रक्रिया भने रोकिएको छ । एमालेको विधानमा १ सय ११ जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने ब्यवस्था भए पनि विवादका कारण मनोनयन हुन नसकेको हो ।

सम्बन्धित शिर्षकहरु