संघियता सहितको संविधानका लागि सात दल एकजुट हुने

असार १२ ।काठमाडौँ,एकीकृत नेकपा माओवादी लगायतका विभिन्न सात राजनीतिक दलले पहिचानसहितको सङ्घीय संविधान निर्माणका लागि सबै दल एकजुट भएर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा सात दलले संयुक्त बैठक बसेर पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधानको पक्षमा संयुक्त रुपमा अगाडि बढ्ने निष्कर्ष निकालेका हुन ।

एकीकृत नेकपा (माओवादी), मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी पार्टी, सद्भावना पार्टी नेपाल, तराई मधेस सद्भावना पार्टीलगायतका शीर्ष नेताहरुले यस्तो निर्णय गरेका हुन ।

संयुक्त बैठकमा संविधानसभा र संविधानसभा बाहिर संयुक्त रुपमा सङ्घर्ष गर्ने र जनपक्षीय संविधान निर्माणका लागि दबाब दिन उनीहरु सहमत भएका हुन् ।

उनीहरुले सङ्घीय गणतान्त्रिक मोर्चाका रुपमा आफ्ना गतिविधि अगाडि बढाउने र त्यसलाई देशव्यापी बनाउने निर्णयसमेत गरेका छन् ।

“पहिचानसहितको संविधान निर्माणका लागि सबै दल एकजुट भएर अगाडि बढ्ने निष्कर्ष आजको बैठकले निकालेको छ”,सङ्घीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले रासससँग भन्नुभयो, “वर्तमान संविधानसभाबाट जनपक्षीय संविधान बन्ने सम्भावना कम भएका कारण संयुक्त रुपमा अगाडि बढ्न र सबै पक्षलाई एकीकृत रुपमा अगाडि बढाउन सहमत भएका छौ ।”

पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधानको पक्षमा रहेको भनिए पनि केही दलले दोधारे चरित्र देखाएको भन्दै उहाँले प्रष्ट भएर नआउने अरु दललाई भने मोर्चामा समावेश गराइँदैन भन्नुभयो ।

मोर्चाले यही असार १८ गते अवधारणापत्र सार्वजनिक गर्ने जनाएको छ ।

सम्बन्धित शिर्षकहरु