पोखरामा छिट्टै अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुन्छ : प्रधानमन्त्री कोइराला

पोखरा,प्रधानमन्त्री सुशील कोइरालाले छिटो भन्दा छिटो पोखरामा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास हुने बताउनु भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिको नेतृत्वमा डेलिगेशनका लागि आएको टोलीलाई आइतबार बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले विमानस्थलका लागि आफू प्रतिबद्ध रहेको बताउनु भएको हो ।

आफूले विमानस्थल बन्ने स्थानकोसमेत निरीक्षण गरिसकेको बताउँदै प्रधानमन्त्री कोइरालाले जतिसक्दो छिटो विमानस्थलको शिलान्यास गरिने बताउनु भयो ।
उहाले पोखरामा विमानस्थल बनाउनका लागि प्रक्रिया मिलाउन अर्थमन्त्रीलाईसमेत केही समय अघि निर्देशन दिइसक्नु भएको छ ।

राजनीतिक परिवर्तन भइसकेको बताउँदै प्रधानमन्त्रीले अब देशमा आर्थिक परिवर्तन आवश्यक रहेको बताउनु भयो ।

‘आर्थिक परिवर्तनका लागि पनि पोखरामा विमानस्थल आवश्यक छ,’ प्रधानमन्त्री कोइरालाले भन्नु भयो,’पोखरामा विमानस्थल बनाउनका लागि सबै दलहरु सकारात्मक छन्, ।’

जतिसक्दो चाँडो पोखरामा विमानस्थल निर्माणका लागि पहल गरिदिन सरोकार समितिका संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले प्रधानमन्त्रीसँग आग्रह गर्नु भयो । ‘पोखरामा विमानस्थल बनाउने अभियानमा सबै लाग्नुभएको छ,’ थापाले भन्नु भयो, ,‘के कारणले विमानस्थल बन्न ढिलाइ भएको अध्ययन गरी जतिसक्दो चाँडो विमानस्थलको शिलान्यास हुनुपर्यो ।’

सम्बन्धित शिर्षकहरु