असार ८ ।उदयपुर,समयमा स्थायी बाँध तथा तटबन्धन निर्माण हुन नसक्दा उदयपुर जिल्लाको हँडिया गाविसस्थित देवधार क्षेत्रको गाउँ स्थानीय देवधार खोलाको कटानको चपेटामा पर्दै आएको छ ।
विगत केही वर्षदेखि बर्सेनि कटानमा पर्दै आएको हँडिया-८ का गाउँहरू यस वर्ष पनि वर्षा सुरु भएसँगै नदी कटानको खतरामा पर्न थालेको स्थानीय देवनारायण चौधरी बताउनुहुन्छ ।
गाउँलेले नदी कटान नियन्त्रण गर्न र गाउँमा बाढी प्रवेश गर्न नदिन बर्सेनि बाँसको टाटी बनाएर माटो थुपारी अस्थायी तटबन्धन निर्माण गरे तापनि वर्षामा देवधार खोलामा बाढी आउना साथ अस्थायी बाँध बगाउने गरेको कारण प्रत्येक वर्ष गाउँ डुबान र नदी कटानमा पर्ने गरेको अर्का स्थानीय चन्द्रवेद चौधरीको भनाइ छ ।
स्थायी तटबन्धन निर्माणका लागि आफूहरूले गाविस तथा जिल्ला विकास समितिलगायत सम्बन्धित निकायमा पटक–पटक ध्यानाकर्षण गराए पनि यसको उचित सुनुवाई नहुँदा बर्सेनि नदी कटानको चपेटामा गाउँ पर्ने गरेको गाउँले बताउँछन् ।
गत वर्ष पनि बर्खामा नदी गाउँमा प्रवेश गर्दा झन्डै १० बिघा जग्गाको धानबाली नष्ट भएको थियो भने केही स्थानीयको घर नै डुबानमा परेको स्थानीय चन्द्रदेव चौधरी बताउनुहुन्छ ।
स्थायी तटबन्धन निर्माणका लागि आफूहरूले आवाज उठाए पनि यसको उचित सुनुवाई नभएको गाउँलेको गुनासो छ ।








