संविधान निर्माणमा सबै दललाई एक जुट आह्वान

साउन ३०। काठमाडौँ, प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणमा सबै दललाई एक जुट हुन आग्रह गरेका छन् ।

पार्टीका केन्द्रीय सदस्य गुरुराज घिमिरेद्वारा लिखित ‘बन्दी जीवनका अनुभूतिहरु’ शीर्षक संस्मरणात्मक कृतिको आज विमोचन गर्दै प्रधानमन्त्री कोइरालाले संविधान निर्माणसँगै मुलुक विकासको बाटामा अगाडि बढ्ने भएकाले आन्दोलनभन्दा वार्ताको बाटाबाट अगाडि बढ्नुपर्ने बताए।

उनले भने – “मुलुकमा कसरी अमनचयन कायम गर्ने र महिला, जनजाति, दलित, मुस्लिमका हकअधिकारलाई कसरी सुनिश्चित गर्ने भन्ने बाटामा लाग्नुपर्छ, अब आन्दोलन गर्नुको कुनै आवश्यकता छैन ।”

pm-koiralaनेपाली काँग्रेसका सभापति कोइरालाले आफूलाई दुई मुख्य चुनौती रहेको बताउँदै भने – “एकातिर संविधान निर्माणको मुख्य जिम्मेवारी र अर्कोतर्फ नेपाली काँग्रेसको १३औँ महाधिवेशन ।” उनले काँग्रेसको महाधिवेशन आउन लाग्दा पनि आफू संविधान निर्माणका कार्यमा जुटेकाले कुनै पनि तयारी गर्न नसकेको स्वीकार गर्दै महाधिवेशनका लागि चाँडो विभिन्न तयारी गठन गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

नेकपा एमालेका नेता केशवप्रसाद बडालले घिमिरे राजनीतिक र साहित्यलाई सँगसँगै लैजाने बहुआयामिक व्यक्तित्व भएको बताए ।

काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले लेखक घिमिरे पढेका कुरालाई स्मरण गर्न सक्ने असाधारण क्षमता भएको व्यक्ति भएको बताए । अर्का नेता बद्री पाण्डेले लेखकले आफूले कारागार जीवनमा रहँदा भोगेका अनुभवलाई जस्ताको तस्तै उतार्न सफल भएको बताए ।

सम्बन्धित शिर्षकहरु