अस्ट्रेलिया । अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ । हाल अस्ट्रेलियामा दैनिक करिब २५ हजारको हाराहारीमा नयाँ संक्रमण देखिन थालेको छ । संक्रमण बढेपछि सर्वसाधारणलाई मास्क लगाउन अनुरोध गरिएको छ । त्यस्तै, भिक्टोरिया राज्यमा ३० लाख एन–९५ मास्क निःशुल्क वितरण गरिने भएको छ ।
अधिकांश अस्ट्रेलियावासीले भाइरसविरुद्धको तेस्रो (केहीले चौथो) खोप लगाइसकेका भए पनि संक्रमण बढ्ने क्रममा छ । अहिलेसम्म एक तिहाइ नागरिक करिब १० लाखलाई संक्रमण भइसकेको छ भने करिब २ लाख ८० हजार जना संक्रमणको अवस्थामा छन् ।
संक्रमण बढ्ने भन्दै केन्द्रीय सरकारले यसअघि नै सर्वसाधारणलाई मास्क लगाउन आग्रह गरेको थियो । हाल अस्ट्रेलियामा मास्क लगाउने नियम अनिवार्य छैन । हरेक राज्यका मुख्य स्वास्थ्य अधिकारीले सर्वसाधारणलाई आवश्यकताअनुसार मास्क लगाउन तथा योग्य भए चौथो खोप लगाउन आग्रह गर्दै आएका छन् । सबैको आग्रहका बाबजुद धेरै कमै मात्र सर्वसाधारणले सार्वजनिक स्थलमा मास्क लगाउने गरेका छन् ।
सर्वसाधारणलाई भाइरसको संक्रमणबाट जोगाउने उद्देश्यले भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रुजले ३० लाख उच्चस्तरको सुरक्षा दिने मानिएको एन–९५ मास्क सर्वसाधारणलाई निःशुल्क वितरण गर्ने घोषणा गरेका हुन् ।








