सयौँ सर्वसाधारणले आश्रय लिइरहेको युक्रेनको रासायनिक कारखानामा आगलागी

किभ । रुसी आक्रमणका कारण युक्रेनको सेभेरोदोनेत्स्क सहरको एउटा रासायनिक कारखानामा आगलागी भएको छ । त्यहाँ निरन्तर युद्ध चर्किरहेको युक्रेनी क्षेत्रीय अध्यक्ष सर्हिय हाइदाइले बताएका छन् ।

हाइदाइले युक्रेनी टेलिभिजनलाई बताएका छन्, “शनिबार आक्रमणको क्रममा एजोट कारखानामा क्षतिग्रस्त रेडियटरहरूबाट दशौँ टन रसायन चुहिएपछि आगलागी सुरु भएको हो ।” सो कारखाना भित्र सयौँ सर्वसाधारणले आश्रय लिइरहेको बताइएको छ ।

सेभेरोदोनेत्स्क पूर्वी युक्रेनतर्फ अघि बढ्ने रुसी प्रयासको मुख्य बिन्दु बनेको छ । रुस र युक्रेनबिचको युद्ध तीन महिना भन्दा लामो भइसकेको छ । राजधानी किभ लगायत अन्य प्रमुख सहरहरू कब्जा गर्ने प्रारम्भिक प्रयास असफल भएपछि रुसले अधिकांश औद्योगिक क्षेत्र रहेको डोन्बासको लुहान्स्क र दोनेत्स्क क्षेत्र नियन्त्रण गर्ने प्रयास गरिरहेको छ ।

सेभेरोदोनेत्स्क र लिसिचान्स्क सहर कब्जा गरेपछि रुसी फौज आफ्नो लक्ष्यको नजिक पुग्नेछ ।

हाइदाइले आफ्नो विज्ञप्तिमा अहिले सेभेरोदोनेत्स्कको अधिकांश भूभाग रुसी हातमा गएको स्वीकारेका छन् । रुसी सेनाले अहिले यस सहरको सम्पूर्ण आवासीय क्षेत्र आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ ।

एजोट रासायनिक कारखानाको आगो नियन्त्रण गरिएको छ । त्यस घटनामा कति मारिए भन्ने स्पष्ट पारिएको छैन ।

बीबीसी

सम्बन्धित शिर्षकहरु