पूर्वप्रधानमन्त्री सुबथाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो

Surya-Bdr-Thapa-Antim-Bidaiवैशाख ४ ।काठमाडौँ,पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको धार्मिक विधिअनुसार राजकीय सम्मानका साथ शुक्रबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । संविधानसभाका ज्येष्ठ सदस्य समेत रहनु भएका सूर्यबहादुर थापाको धार्मिक विधिअनुसार दाहसंस्कार गरिएको छ ।
थापाको पार्थिव शरीरमा उहाँका सुपुत्र एवम् वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले दागबत्ती दिनुभएको थियो ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष समेत रहनुभएका स्व थापाको पार्थिव शरीरमा पार्टी अध्यक्ष पशुपति शम्शेर राणा र नेता दीपक बोहराले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गर्नुभएको थियो ।
स्व थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतम, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, नेपाली काँग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र प्रकाशशरण महतलगायत राप्रपाका नेता, कार्यकर्ता पशुपति आर्यघाट पुग्नुभएको थियो ।
पाँच पटकसम्म नेपालको प्रधानमन्त्री बन्नुभएका स्व थापाको सम्मानमा नेपाली सेनाको एक टुकडीले शोकधुन बजाउनुका साथै सलामी अर्पण गरेको थियो ।मुलुकको राजनीतिमा छ दशकसम्म सक्रिय राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता थापालाई समय र परिस्थितिको सही विश्लेषण गर्ने दिग्गज व्यक्तिका रुपमा राजनीतिकर्मीले स्मरण गरेका छन् ।
राप्रपाका संस्थापक अध्यक्षप्रति श्रद्धाञ्जलि दिन थापा निवास पुग्नुभएका उहाँका समकक्षी एवम् अन्य राजनीतिक दलका नेताले उहाँलाई नेपाली राजनीतिमा परिपक्क र क्षमतावान् व्यक्तिका रुपमा लिने गरेको प्रतिक्रिया दिनुभयो ।थापाको गत बुधबार राति उपचारका क्रममा भारतको मेदान्त अस्पतालमा निधन भएको थियो ।यसैबीच, राप्रपाको केन्द्रीय कार्यालय चाबहिलमा पूर्व राजा ज्ञानेन्द्र शाहका तर्फबाट तत्कालीन राजप्रासाद सेवाका प्रमुख सचिव पशुपतिभक्त महर्जनले श्रद्धान्जली अर्पण गर्नुका साथै परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित शिर्षकहरु