अष्ट्रेलियामा १० लाख नाघे कोरोनाका संक्रमित, आधाभन्दा धेरै संक्रमित पछिल्लो एक सातामा थपिए

अष्ट्रेलिया । अष्ट्रेलियामा कोभिड–१९ का संक्रमितको १० लाख नाघेको छ। जसमध्ये आधाभन्दा धेरै संक्रमित पछिल्लो एक सातामा थपिएका छन्। कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण बढेसँगै अष्ट्रेलियामा कोरोनाका संक्रमितको संख्या पनि ह्वात्तै बढेको हो।

यससँगै मुलुकका अस्पतालमा भर्ना हुनेको संख्या पनि बढेको छ भने आपूर्ति सञ्जालमा पनि समस्या देखिएको छ । निकै कडा लकडाउन र सीमा बन्दको रणनीतिमार्फत लामो समयसम्म मुलुकमा महामारी नियन्त्रण गर्न सफल भएको अष्ट्रेलियाले पछिल्लो केही समययता भने आफ्नो अन्तर्राष्ट्रिय सीमा खोल्ने निर्णय गरेको थियो।

अष्ट्रेलियाले कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्या धेरै भएको भन्दै अब भाइरससँगै बाँच्न सुरु गर्नुपर्ने बताउँदै आएको छ। अष्ट्रेलियामा अहिलेसम्म १० लाख ३ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन्। सोमबारमात्र अष्ट्रेलियाका न्यु साउथ वेल्स र भिक्टोरिया राज्यमा ५५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

अहिलेसम्म अष्ट्रेलियामा २ हजार ३८७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

सम्बन्धित शिर्षकहरु