(एउटा अनुरोध – बिरामी, मुटु कमजोर भएका व्यक्ति र बालबालिकाले कृपया यो कथा नपढिदिनुहोला)
चाबी

सानो छँदा भूतप्रेतका कथा धेरै सुनेको भएपनि सुबोधलाई त्यसमा विश्वास भने पटक्कै थिएन, कारण – उनी आफैंले कहिल्यै नदेखे/नभोगेकोले । त्यसैले त वरपरकाले यो घरमा तर्साउँछ भनी दिएको सल्लाहलाई उनले वेवास्ता गरी भर्खरै किनेर आफ्नो बनाएका । यसमा उनकी श्रीमती जीवनको भने अर्धसमर्थन नै थियो ।
बजारकै छेउमा भएपनि त्यो घर अलि अपायक जस्तो – एक भाग मूल बाटातिर फर्केको, अधिकाँश कोठाहरू चौरपट्टि । त्यहीं चौरमा त्यता वस्ती नबस्दासम्म चिहानघारी थियो पनि कसै-कसैले भन्थे ।
सुबोध एउटा निजी फाइनान्स कम्पनीमा कार्यरत थिए; १०-५ को काम भएकोले ६ बजेसम्म त घर आइपुगिसक्ने । जीवनको कामको प्रकृति चाहिं अलि भिन्न थियो । सरकारी अस्पतालकी नर्स उनी, कहिले बिहानको सिफ्ट पर्ने कहिले रातीको । सेवाको काम, र अवसर पनि राम्रै हुने भनेर नर्सिंग सेवामा होमिएकी जीवनलाई शुरूमा त सुत्ने समयको हेरफेरले निकै अप्ठ्यारो पारेको हो । तर, विस्तारै बानी पर्दै गयो ।
दुईतलाको त्यो घर त्यस्तै ३०-४० वर्ष पुरानो हुँदो हो । मूलढोकाबाट छिर्नेबित्तिकै बैठक र भुइँतलामै भान्सा, अनि दुइटा बेडरूम र अर्को बैठक कोठा माथि । भनेजस्तो नभएपनि कामको नजिकै, र सस्तोमा पनि पाइएकोले दुबैले आँटिहालेका थिए ।
किनेको एक महीनासम्म त सबै ठीकठाकै चलेझैं लाग्थ्यो । तर एक रातको घटनाले सुबोध केही दिनदेखि सोचमग्न थिए । जीवन साँझ ६ बजेतिर काममा गएकी, घरमा अरू कोही थिएन । त्यस्तै १० बजेतिर खाना खाएर बेडरूममा पुगेका उनी पल्टेर किताब पढिरहेका थिए। रातीको १२ बजेको हुँदो हो, बेड नजिकैको झ्याल अलिकति खुलै थियो, गर्मी महीना भएकोले । त्यत्तिकैमा उनलाई अचानक चिसो महसुस भएझैं भयो, जीउ पनि कस्तो भारी भएजस्तो । ‘बाहिर हावा त लागेको थिएन, रूखहरू पनि हल्लेका छैनन्’ भन्दै झ्यालमा हेर्न खोज्दा कसैले उनैलाई एकतमासले हेरिरहेको रहेछ । सुबोध खन्ग्रँग भए, कारण त्यो आकृति उनले वर्णनै गर्न नसकिने किसिमको थियो; र उनले देख्दादेख्दै विस्तारै बिलायो पनि ।
भोलिपल्ट दिनभरी त्यहीं कुरा मनमा खेलिरह्यो- ‘के त्यो सपना थियो?’ तर उनलाई निश्चित थियो त्यसबेला उनी जागै थिए । श्रीमतीलाई यो सबै भनौं भन्ने पनि उनलाई नलागेको हैन; तर उनले के भन्लिन् भनेर कुरै गरेनन् ।
त्यसको केहीदिनपछि – जीवनको रातीको सिफ्ट थियो, घर आइपुग्दा बिहान हुने । त्यो रात भने ढोकामा एकोहोरो बजेको घण्टीले सुबोधको निद्रा भँग भयो ।आँखा मिच्दै तल पुगेर झ्यालबाट हेरे- श्रीमती उभिरहेकी रहिछन् । अचम्म मानेर हतपत ढोका खोले, डबल लक भएकोले भित्रबाट चाबीले खोल्नुपर्ने थियो । बाहिर उनले सोचेभन्दा चिसो रहेछ । “ए, चाँडै सकियो आज?” – केही उत्तर आएन, जीवन सरासर भर्याँग उक्लेर माथि पुगिन् । उनी छक्क परे- ‘रिसाइन् कि? त्यस्तो केही भए त मलाई भन्नुपर्ने’ । ढोका ढामढुम पारेर चुकुल लगाएका मात्र के थिए मोबाइलमा “टिडिंग” गर्यो । गोजीबाट निकालेर हेर्दा आएको म्यासेज देखेर सुबोधको होस उड्यो, लेखिएको थियो – “निदाउनुभयो?” । आफ्नी श्रीमतीको नामबाट आएको सो म्यासेज देखेर उनलाई एकछिन कहाँ, के गरिरहेछु भन्ने नै पत्तो नभएजस्तो भयो । फेरि सम्हालिएर तुरून्त फोन गरे- “तिमी कहाँ छौ र?” – उताबाट – “यहीं छु त । आज कति काम हेर्नु न!”
सुबोधको पुरै शरीर शिथिल भइसकेको थियो , रोकिन खोजेको सास र सुकेको मुखबाट केही बोल्न खोज्दाखोज्दै पनि बोल्न सकिरहेका थिएनन्- उताबाट “हेलो, हेलो” आवाज आइरहेको थियो । त्यत्तिकैमा भन्याँगमा कोही ओर्लिरहेको आवाज आयो- सुबोधलाई पछाडि फर्किएर हेर्ने आँट आएन । फेरि चिसो बढ्दै थियो, हातबाट कुनबेला मोबाइल झर्यो थाहै भएन । ढोका खोलेर बाहिर निस्कन गोजीमा चाबी खोज्दैथिए, गलेको हातले समातेको चाबी पनि भुइँमा झर्यो । टिप्न निहुँरिंदै गर्दा कसैले पछाडि बोलाइरहेको थियो – “सु..बो..ध……”।
- प्रविण टण्डन “वसन्तप्रवीण”
सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com







