काठमाडौं । भारतमा कोरोना भाइरसको कारण एकै दिनमा ३८० जनाको ज्यान गएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण यति धेरैको ज्यान गएको हो। यो संख्यासँगै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या नौ हजार नौ सय पुगेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ३ लाख ४३ हजार ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका १० हजार ६६७ नयाँ संक्रमित फेला परेका हुन् ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख १० हजार ७४४ संक्रमित फेला परेका छन् भने चार हजार १२८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
त्यस्तै तामिलनाडुमा अहिलेसम्म ४६ हजार ५०४ संक्रमित फेला परेका छन् भने ४७९ जनाको मृत्यु भइसकेको छ ।
दिल्लीमा ४२ हजार ८२९ संक्रमित भेटिँदा एक हजार चार सयको मृत्यु भइसकेको छ । गुजरातमा २४ हजार ५५ संक्रमित फेला परिसकेका छन् भने एक हजार ५०५ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १३ हजार ६१५ संक्रमित फेला परेका छन् भने ३९९ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा ११ हजार ४९४ संक्रमित भेटिएका छन् भने ४८५ जनाको मृत्यु भइसकेको छ । बिहारमा ६ हजार ६५० संक्रमित फेला परेका छन् भने ४० जनाको मृत्यु भइसकेको छ ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ८० हजार १३ संक्रमित निको भएर घर फर्किसकेका छन् ।








