काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अतिक्रमण भएको भूमी जसरी पनि फिर्ता लिएरै छोड्ने दावी गर्दै यस बिषयमा संसदमा एकता बलियो रहेको जानकारी दिएका छन ।
बुधबार संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने,”हाम्रा पूर्खाले यो देश लडेर बनाएका र बचाएका हुन, आज हामी अडे मात्रै हामी देशको भौगोलिक अखण्डता पूर्ण रुपमा स्थापित गर्न सकिन्छ ।”
उनले १९६१ सम्म नेपालले भोगचलन गरिरहेको भूभागमा भारतले १९०६२ मा सेना राख्यो र कब्जा गरेको बताउदै वार्ताबाटै आफ्नो भूमि फिर्ता ल्याउने दावी गर्नु भयो ।
लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको झन्डै चार हप्त्ता अघि पुगिसक्दा पनि भारतले यसबारेमा वार्ता गर्न तयार भएको नदेखिएको प्रति प्रधानमन्त्री ओली भारतविरुद्ध आक्रमकरुपमा प्रस्तुत भएका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका लागि विनियोजित बजेटबारे उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले सुगौली सन्धि, नेपाल-भारत प्रवुद्ध व्यक्तिहरुको समूह -इपिजी) को प्रतिवेदन लगायतका विषयलाई उल्लेख गरे ।
उनले राष्ट्रिय मुद्दामा सर्वसम्मत भावना प्रकट गरेर एकता प्रदर्शन गरेको भन्दै संघीय संसद र सांसदहरुलाई धन्यवाद दिदै भौगोलिक अखण्डता स्थापित गर्न संसदले जनभावना प्रतिविम्वित गरेको बारे बताए ।
उनले भने, ‘संसदभन्दा बाहिर पनि यस सवालमा जुन राष्ट्रिय एकता देखिएको छ, । सम्पूर्ण बौद्धिक क्षेत्र, नागरिक समाज र सामाजिक जीवनका बिभिन्न तप्काहरु, संघ संस्थाहरु सबैतिर राष्ट्रिय एकता प्रदर्शन भएको छ । यसमा खुसी व्यक्त गर्न चाहन्छु ।’
प्रधानमन्त्री ओलीले लिम्पियाधुरा क्षेत्र विवादित क्षेत्र नभई भारतले कब्जा गरेको भन्दै सन् १९६१ सम्म नेपालले भोगचलन गरिरहेको भूभागमा भारतले ०६२ मा सेना राखेर कब्जा गरेको दावी गरे ।
नेपाल वार्ताबाटै समस्या समाधान गर्न तयार रहेको भन्दै प्रधानमन्त्रीले भनेका छन्, ‘हामी वार्ताबाटै समस्याको समाधान खोज्छौं । समाधान भनेको- हाम्रो भूमि फिर्ता हुन पर्यो ।’
सुस्ता लगायत अन्य क्षेत्रको समेत सीमा विवाद समाधानको पहल भइरहेको भन्दै प्रधानमन्त्री ओलीले लिम्पियाधुरालाई अहिले उच्च प्राथमिकतमा राखेर अगाडि बढेको बताए । प्रधानमन्त्रीले संसदमा भने, ‘लिम्पियाधुरा, लिपुलेक, कालापानी अहिलेको विवादको विषय हो । जो भूगोल नै सर्लक्कै कालापानीमा भारतीय फौज नै बसेर त्यहाँभन्दा उता लिपुलेक र लिम्पियाधुरा त्यसलाई भारतले कब्जा गरेको छ । हामीबाट त्यो भूमिमा सेना राखेर छुट्याएर लगेको छ । सेना नराखेसम्म त हाम्रो भोगचलनमा छँदै थियो । सेना राखेपछि हामी सेना भएको ठाउँमा जान पाएनौं र त्यो भन्दा उता पनि जान पाएनौं र यसरी एक ढङ्गले भन्ने हो भने यो कब्जा हो ।’
सांसदहरुले नक्सामा आएको भूमि साँच्चै फिर्ता हुन्छ भनेर गरेको प्रश्नको उत्तर दिँदै ओलीले राष्ट्रको हितमा, देशको सार्वभौम सत्ता, स्वाधिनता, भौगोलिक अखण्डता, जे राष्ट्रिय स्वाभिमानको पक्षमा हुन्छ त्यसको पक्षमा अध्ययन गरेर दृढताका साथ उभिने प्रतिवद्द्ता जनाए ।
प्रधानमन्त्री ओलीले भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपालबारेको अभिव्यक्तिको विरोध गर्दै उनले कसले हेप्दैमा आफूहरु नहेपिने बताए ।
गत बुधबार भारत लखनउमा इन्डो एसियन न्युज सर्भिसलाई दिएको अन्तर्वार्तामा महामन्त्री योगी आदित्यनाथले नेपालले आफ्नो देशको राजनीतिक सीमा निर्धारण गर्नुभन्दा अघि त्यसबाट उत्पन्न हुने परिणामका बारेमा सोच्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
त्यस विषयमा कांग्रेस सांसदहरुले सरकारको धारणा माग गर्दा जवाफमा प्रधानमन्त्रीले यसो भने, ‘आदित्यनाथ योगीजी, उत्तरप्रदेशका मुख्यमन्त्रीले बोल्नुभयो भन्ने कुराहरु आएको छ । यदि उहाँले त्यसरी बोल्नुभएको हो भने त्यो जायज होइन । र, त्यसरी नेपाललाई यदि धम्क्याउन खोज्नुभएको हो भने उचित होइन । बोल्नुभएको हो भने अलोच्य विषय हो । त्यसरी नेपाललाई धम्की दिनुभएको हो भने निन्दनीय विषय हो ।”








