काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले क्रिकेटले पनि नेपाल-भारतबीच सम्बन्ध मजबुत बनाएको बताएका छन् । भारतको ७२ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै राजदूत पुरीले भने, ‘अब त क्रिकेटले पनि हाम्रो सम्बन्ध मजबुद बनाएको छ । नेपालले ओडिआई खेल्यो । क्रिकेटमा नेपालले धेरै ठूलो प्रगति हासिल गरिरहेको छ । नेपालीहरुको क्रिकेटप्रति क्रेज ह्वात्तै बढेको छ ।’
उनले थपे, ‘नेपाली युवा क्रिकेट खेलाडी सन्दिप लामिछानेले आइपीएल खेल्दा नेपालीहरुमात्रै होइन, भारतीय जनतापनि खुशी भएका थिए । लामिछानेको शानदार प्रर्दशनले हामी भारतीय जनतापनि खुशी छौं । नेपाल–भारत सम्बन्धमा अब क्रिकेटपनि नयाँ शक्तिको रुपमा उदय भएको छ।’
पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा पशुपतिनाथ मन्दिर परिसरमा निर्माणधिन रहेको पशुपति धर्मशालाको उद्धघाट्न गर्ने बताए । यही अगष्ट ३० र ३१ तारिख काठमाडौंमा हुने विमस्टेकको शिखर सम्मेलनमा भाग लिन आउँदा भारतीय प्रधानमन्त्री मोदीले पशुपति धर्मशालाको उद्धघाट्न गर्ने कार्यक्रम रहेको जानकारी दिए । उनले भने, ‘हाम्रो प्रधानमन्त्री नेपाल आउँदा पशुपति धर्मशाला उद्धघाट्न गर्ने कार्यक्रम छ । यो खुशीको कुरा हो । तीर्थयात्रीहरुलाई बस्नको लागि अत्यन्तै सहज हुन्छ ।’
राजदूत पुरीले पर्यटनको विकास गर्न सकिए यसले आर्थिक समृद्धि हासिल गर्न सहयोग पुग्ने विश्वास दिलाए । उनले भने, ‘नेपाल र भारतबीच सामाजिक, सांस्कृतिक, धार्मिक सबैखाले सम्बन्ध सदियौंदेखि रही आएको छ । अहिले पनि नेपाल भएर हजारौंको संख्यामा भारतीय पर्यटकहरुले मानसरोवरको तिर्थाटन गरिरहेका छन् । यसले आर्थिक विकासमा ठूलो टेवा पुर्याएको छ ।’
भारतीय प्रधानमन्त्री चौथो पटक नेपाल आउन लागेको सुनाउँदै उनले भने, ‘यसले पनि देखाउँछ कि हाम्रो प्रधानमन्त्री मोदीको छिमेकी पहिले नीतिमा उहाँ प्रतिबद्ध हुनुहुन्छ । नेपालको जस्तोसुकै समस्यामा पनि भारतको हमेशा साथ र सहयोग रहन्छ । नेपाल भारतको सदैव उच्च प्राथमिकतामा छ ।’
नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अब आर्थिक रुपमा अझै मजबुत भएर अघि बढाउनुपर्ने उनको सुझाव छ । सुदृढ नेपाल र सुखी नेपाली बनाउने अभियानमा आफ्नो देशको सधैं साथ र सहयोग रहने उनको प्रतिबद्धता छ ।








